चितवन । नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल र धनश्याम भुसाल आक्रोसित बनेका छन् ।
एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाबाया हुँदैन भनेपछि नेता रावल र भुसाल आक्रोसित बनेका थिए ।
पौडेलले उम्मेदवारी दिन विधानले नै नदिने तर्क गरेपछि रावलले असन्तुष्टि जनाएका थिए । उनले विधानले उम्मेदवारी दिन नपाइने उल्लेख नगरेको भन्दै आफू उम्मेदवारबाट पछि नहट्ने बताएका थिए ।
उपमहासचिव पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिने प्रस्ताव सर्वसम्मतिले पारित गर्न बन्दसत्रमा पेस गरेपछि हङ्गामा भएको थियो। पौडेलको उक्त प्रस्तावमाथि रावल र भुसालले कडा आपत्ति जनाएका थिए ।
रावल रन्किएपछि ईश्वर पोखरेलले सबैले उम्मेदवारी दिन पाइने भन्दै थम्थम्याएका थिए । उनले विधान भन्दा दाँयाबायाँ नहुने बताएका थिए ।
बन्दसत्र चलेको तीन घन्टा बोलेका ओलीले नेताहरूबीच विवाद भएपछि रावललाई सान्त्वना दिँदै महाधिवेशन विधान अनुसार नै हुने बताएका थिए ।
विधानअनुसार सबैलाई अधिकार रहने बताउदै अध्यक्ष ओलीले जबरजस्ती सहमति नगर्ने प्रतिवद्दता जनाएका थिए ।
ओलीले रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी उम्मेदवारी फिर्ता लिनुहुन्छ भनेर ठट्टा गर्दै स्थितिलाई सामान्य बनाएका थिए ।
यहीबीच रावलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेसँगै सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना पनि कम रहेको छ ।
बन्द सत्रका बाँकी कार्यक्रम आइतवार बिहान ११ बजेबाट सुरु हुने छन् ।