चितवन । प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ ।
अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू प्युठानदेखि चितवन आएका हुन् ।
खिमबहादुर र उनकी श्रीमती चित्रकली बुढामगर दिनभर कपडा बेच्नमा व्यस्त देखिन्छन् । एमालेको महाधिवेशनलाई उनीहरूले राम्रो मौकाका रूपमा लिए । एमालेले चितवनमा महाधिवेशन गर्ने तय भएपछि बुढामगरका दम्पती अल्लोको कपडा बेच्न चितवन आउने निधो गरे ।
नारायणी नदी किनारमा १० मंसिरमा महाधिवेशनको उद्घाटन हुँदै थियो । उनीहरू ७ मंसिरमै चितवन आइपुगे । त्यही दिनदेखि नदी किनारमा मञ्चको अगाडि कपडा बेच्न थाले । राति नारायणगढ लिलाचोकस्थित एक अतिथि सदनमा बास बसे ।
बन्द सत्रका लागि सहभागीहरू १० मंसिरको राति महाधिवेशन प्रतिनिधि सौराहा आए । उनीहरू पनि कपडा बेच्नका लागि सौराहा आएका हुन् । शनिबार ९५ हजारको व्यापार भएको खिमबहादुरले बताए ।
अल्लोको टोपीलाई उद्योगबाट खुद्रामा बिक्री गर्दा प्रतिटोपी सात सय रुपैयाँमा बिक्री हुन्थ्यो । व्यापारीलाई दिने थोक मूल्य प्रतिटोपी पाँच सय रुपैयाँ थियो । अहिले महाधिवेशनलाई लक्षित गरेर खुद्रामा पनि प्रतिटोपी पाँच सय रुपैयाँमा नै बिक्री गरिएको उनले बताए ।
स्टकोटलाई ३५ सय, जुवारी कोटलाई ४५ सय र फुल कोटलाई नौ हजारमा बिक्री गरिएको उनले बताए । त्यही मूल्यमा एउटा टोपी पनि दिने गरिएको उनको भनाइ छ । टोपी नलैजानेलाई पाँच सय रुपैयाँ छुट दिने गरिएको छ ।
महाधिवेशनको उद्घाटनका दिनमा भने एक लाख आठ हजार रुपैयाँको व्यापार भएको उनले बताए । महाधिवेशनअघि ८ मंसिरमा ८० हजार र ९ मंसिरमा ७९ हजार रुपैयाँको व्यापार भएको उनी बताउँछन् ।
कपडा बनाउने उनीहरूको प्युठानमा आफ्नै कोठिहिमाल अल्लो कपडा उद्योग छ । उद्योगको अध्यक्ष उनकै श्रीमती चित्रकली हुन् भने व्यवस्थापक खिमबहादुर । चित्रकलीले २०६२ मा अल्लोको कपडा बनाउने तालिम लिएकी हुन् । मगर समुदायमा भांग्रा बनाउने र अल्लोको धागो निकाल्न जान्ने महिलासँग मात्रै पुरुषले विवाह गर्नुपर्ने विगतमा त्यहाँको चलन थियो ।
उनीहरूले २०४२ सालमा विवाह गरेका हुन् । दुई जना छोरा र बुहारी छन् । छोराबुहारी पनि अल्लोकै कपडा बनाउने र बेच्ने काममा लागेका छन् । परिवारका सदस्यसँगै अरु नौ जनालाई पनि रोजगार दिएका छन् । धागो निकाल्न धेरै मान्छेको आवश्यकता पर्ने भएकाले अप्रत्यक्ष रूपमा हजारौँ जनाले पनि रोजगारी पाएको उनी बताउँछन् ।