सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गर्नुभएको छ ।
सौराहमा आइतवार राति बसेको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गर्नुभएको हो ।
बन्दसत्रमा उपस्थित प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीले महिला, मधेसी, जनजाति, दलित सबै कलस्टर मिलाएर सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली प्रस्तुत गर्नुभएको हो । अध्यक्ष ओलीले ३०१ जनाको नाम पढेर सुनाउनुभएको थियो । ।
नामावलीमा छुटेका पुराना नेताहरुलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
महाधिवेशनले अध्यक्ष ओलीबाट प्रस्ताव भएको केन्द्रीय सदस्यको सूची अनुमोदन गरेको छ ।
सोमबार विहान पौने १ बजे महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन भएको हो ।
पहिलो दिनको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय समितिमा सर्वसम्मत गर्न नामावली छनोट गरेर प्रस्तुत गर्ने अधिकार दिएको थियो ।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३०१ जना केन्द्रीय सदस्यहरूले अब प्रक्रियाअनुरूप सोमबार मनोनयनपत्र दर्ता गराउनुपर्नेछ।
यो नामावली समझदारीका लागि घोषणा गरिएको र उनीहरूले विधिवत् रूपमा केन्द्रीय सदस्य चुनिन प्रक्रियामा जानैपर्ने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले १ सय १ जना महिलासहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो ।
उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया सोमबार बिहान ८ बजेबाट सुरु हुने सुब्बाले जानकारी दिनुभयो ।