तनहुँ। उर्जा, जलस्रोत, तथा सिंचाईमन्त्री पम्फा भुषालले तनहुँ जलविद्युत आयोजनाको सोमबार स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । भुषालले स्थलगत अवलोकन गरी हालसम्म आयोजनाले गरेको निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिको बारेमा जानकारी लिनुभएको हो ।
निरीक्षण गर्दै मन्त्री भुषालले प्रस्तावित धेरैमध्ये जल विद्युत आयोजनामध्ये कार्यान्वयनम अघि बढेको महत्वपूर्ण योजना भएको उल्लेख गर्दै स्रोतसाधन, प्रशासनिक र स्थानीय कुनै पनि कारणले ढिलो हुन नहुने बताउनुभयो । निर्धारित समय काम गर्नुपर्ने हुँदा फिल्डको काम छिटो सम्पन्न गर्न परिणाम आउने गरी काम गर्न कर्मचारी, प्राविधिकलाई निर्देशन दिनुभयो ।
केही समस्या आएमा परियोजना, राजनीतिक दल, स्थानीय बासिन्दा र मन्त्रालय मिलेर समाधान गर्नु पर्ने मन्त्री भुषालले बताउनुभयो । ‘‘यहाँको जीवनस्तर माथि उकास्न, सिंचाई, माछापालन, पर्यटकीय स्थलको रुपमा विकास गर्न आयोजनाको ठूलो महत्व रहेको उहाँले बताउनुभयो । विनाअवरोध छिट्टोभन्दा छिटो सम्पन्न गर्न जरुरी रहेको मन्त्री भुषालले बताउनुभयो ।
रणनीतिक हिसाबले विद्युत अभाव हुने समय सुख्खायाममा विद्युत आपूर्तिका लागि आयोजना महत्वपूर्ण हुने भएकोले सरकारको तर्फबाट कुनै कमी हुन नदिने मन्त्री भुषालले प्रतिवद्धता जनाउनुभयो । मन्त्री भुषालले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, तनहुँ जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख अच्युतबाबु घिमिरेसहित प्राधिकरण उच्च अधिकारीकासाथ आयोजनाको कामको जानकारी लिन आउनुभएको हो ।