काठमाडौं । विश्व स्वास्थ्य संगठनडब्ल्यूएचओले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने बारे अध्ययन भइरहेको बताएको छ ।
डब्ल्यूएचओका नेपाल प्रमुख राजेश सम्भाजीराव पाण्डवले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको बताउनुभएको हो । डब्ल्यूएचओले उक्त भेरियन्टबिरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको उहाँको भनाइ छ ।
प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने बताउनुभयो । उहाँले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएकोझैँ एकै ठाउँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिकस्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
प्रमुख पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताउनु भयो । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो । यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
यता गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनु भएको छ । उहाँले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताउनुभयो ।
प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीसीमा पनि छलफल भइरहेको बताउनु भयो । उहाँले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुयाउन निर्देशन दिएको बताउनु भयो ।