विकास बन्जाडे
कपिलबस्तु । मिठो बासना र स्वादिलो चामलका रूपमा लिइने कालानीमक धान कपिलवस्तु लगायत तराईका जिल्लामा लोप हुने अवस्थामा पुगेको छ । नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको कालानीमक धानको खेती लोप हुन थालेपछि कपिलवस्तुमा उत्पादन समेत निकै कमी आएको छ ।
स्थानीय जातको बहुमूल्य चामल मानिने कालानीमकको मूल्य बजारमा अन्य चामलभन्दा दोब्बर महँगो छ । जमिन्दार, हुनेखानेको प्रमुख रोजाइ तथा पाहुनाको स्वागतकाे राम्रो परिकारका रूपमा लिइने भएकाले बजारमा यसको माग अत्याधिक छ तर कम उत्पादन, रोग तथा किराको प्रकोपका कारण ढिलो तयार हुने हुँदा यसको खेती कमैले गर्ने गरेका छन् ।
पहिला अधिकांश किसानले ८ देखि १० विघाह क्षेत्रफलमा कालानीमक धान लगाउने गरेकोमा सिँचाइको भरपर्दो व्यवस्था, मल बिउको समस्याले गर्दा उत्पादनमा समेत कमी हुँदै गएकाले लगाउन छाड्दै गएको कृषक राधेश्याम बरईले बताउनुभयो ।
खाँदा अति स्वादिष्ट तथा वासनाले भरिपूर्ण भएको कालानीमक धानलाई लोप हुनबाट बचाउन विशेष चाँसो दिनु पर्ने अर्का कृषक विश्वंभर यादवले बताउनुभयो । कालनीमक धानको संरक्षणका लागि कृषि ज्ञान केन्द्र, स्थानीय, प्रदेश, केन्द्र सरकारले ध्यान दिनुपर्ने उहाँको माग छ ।
कालानीमक धानको संरक्षण र प्रर्वद्धनका लागि कृषि ज्ञान केन्द्रले विशेष कार्यक्रम अगाडी बढाउने केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । अहिले धान मिलहरुको सहकार्यमा पनि यसको पर्वद्धनको लागि विभिन्न कार्यक्रमहरु जस्तै बिउमा अनुदान, यान्त्रीकरण, भरपर्दो सिँचाइ सुविधा लगायत सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आएको ज्ञान केन्द्रका प्रमुख चौवेको दाबी छ ।
कपिलवस्तुमा कुल ८३ हजार हेक्टर खेतीयोग्य जमीन मध्ये ७२ हजार हेक्टरमा धान खेती हुने गर्दछ । जस अनुसार पछिल्ला वर्षमा मात्रै ५ हजार हेक्टर क्षेत्रफलमा कालानीमक धान लगाइने गरिएकोमा हाल भने ३ सय ५० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांक उल्लेख छ ।