काठमाडौँ । नेपालमा फेरि लोककथाहरुमा सीमित हिम मानव यतीको पाइलाको डोब फेला परेको छ ।
नोभेम्बर २७ अर्थात मंसिर ११ गते बिहान दोलखाको रोल्वालिङ क्षेत्रको ना गाउँमा हिम मानव यतीको पाइलाको डोब फेला परेको हो । आरोही मिग्मा शेर्पाले मंगलबार सामाजिक सञ्जालमा ‘यतीको पाइला’ भन्दै दुई तस्बिर पोस्ट गरेका छन्। पोस्ट गरिएका तस्बिरमा दुईवटा पाइला जस्तो देखिन्छ, तर ती मानिसका जस्ता छैनन् । प्रतिक्रिया दिनेहरुले ती पाइलाको डोब हिमाली भालुको हुनसक्ने उल्लेख गरेका छन् । तर मिग्माले भने बुढापाकाहरुले भने अनुसार ती पाइला हिम मानवका रुपमा विश्वास गरिने ‘यती’ को हुन सक्ने उल्लेख गरेका छन्।
मिग्माका अनुसार मंसिर ११ गते दोलखाको रोल्वालिङ क्षेत्रको ना गाउँमा गाउँका प्रमुख लामाले ती तस्बिर खिचेका हुन् । सम्मानित व्यक्ति लामाका अनुसार यी पाइलाहरु यतीका हुन सक्छन् ।
दुईवटा पाइलाको तस्बिर ना गाउँको पवित्र गुफा उर्गेन द्रूकाङ नजिकै खिचिएको मिग्माले उल्लेख गर्नुभएको छ ।
नेपाल सहितका एसियाली देशका लोककथाहरुमा यतीको वर्णन पाइन्छ । तर वैज्ञानिक रुपमा भने यतीको प्रमाणित हुन सकेको छैन ।
यती हिमाली क्षेत्रको माथिल्लो क्षेत्रमा बस्ने विश्वास गरिन्छ।
मिग्माले मंगलबार पोस्ट गरेका तस्बिरमा देखिएको पाइला केहीले यतीकै रहेको विश्वास गरेका छन् भने अधिकांशले आशंका व्यक्त गरेका छन्।
वैज्ञानिकहरुले पनि यती हुनसक्ने अनुमानका आधारमा थुप्रै अध्ययन गरेका थिए । तर त्यसले पनि यतीको अस्तित्व प्रमाणित गर्न सकेको छैन। बरु यतीको भनेर दाबी गरिएका तस्बिर वा अंग या अंगका अंशहरुको अध्ययन गर्दा हिमाली भालुका विभिन्न प्रजातिको रहेको वैज्ञानिक अध्ययनबाट देखिएको छ।