काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्ने बताउनुभएकाे छ।आज स्पेनबाट स्वदेश फर्किनुभएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संसद् सूचारु गर्न पहल गर्ने बताउनुभएकाे हाे ।
उहाँले सर्वदलीय बैठक गरेर समस्या समाधान गर्न पहल गर्ने बताउनुभयाे ।
यस्तै उहाँले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासम्बन्धी विवाद समाधानको उपाय खोजिने पनि बताउनुभयाे ।
‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकेँ, अब सोच्छु’, पत्रकारको जिज्ञासामा सभामुख सापकोटाले भन्नुभयाे, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर म त्यसमै केन्द्रित भएर लाग्नेछु।’
अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४३ औं सम्मेलनमा सहभागि हुन सभामुख यही मंसिर ८ मा स्पेन जानुभएकाे थियाे ।
नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई, संघीय संसदका महासचिव डाक्टर भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन केसी र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं हुनुहुन्थ्याे ।