पुष्पराज अधिकारी
हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त हुने भएको छ । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भोलि हुने मतदानमा पार्टी संस्थापन पक्षबाट दुई र संस्थापन इतरबाट एकजना सभापतिको लागि प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।
कांग्रेसको बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिएका तीनमध्ये दुईजनाले प्यानलसहित उम्मेद्वारी दिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीवारबाट हेटौंडामा नयाँ नेतृत्व चयनका लागि शुरु भएको प्रदेश अधिवेशनमा प्रदेश सभापति पदमा मकवानपुरका इन्द्रबहादुर बानियाँ र नुवाकोटका जगदीशनरसिंह केसीले प्यानल घोषणा गरेर सभापतिमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, काठमाडौंका भीमसेनदास प्रधानले एकल उम्मेद्वारी दिएका हुन् । एकल उम्मेद्वारी दिएका प्रधानलाई बानिँयाले उम्मेदवारी फिर्ता लिन र समर्थन गर्न केन्द्रीय नेतृत्वतहमा छलफल अघि बढाएका छन् ।
बानियाँ पार्टी सभापति तथा संस्थापन शेरबहादुर देउवा निकट, संस्थापन इतरबाट केसी र कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट पार्टी केन्द्रीय सदस्य प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिएका हुन् । संस्थापनबाट सभापतिमा बानियाँ, उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएकाछन् ।
यस्तै, संस्थापनइतर समूहबाट सभापतिमा केसी, उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल ‘माइकल’, कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोलले उम्मेदवारी दिएका छन् ।
अधिवेशन अन्तर्गत शनीवार हुने निर्वाचनमा १३ जिल्लाका २ हजार १ सय ३७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् । प्रदेश अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कूल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुल्लातर्फ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।