राज दयाल
ओखलढुंगा । सांस्कृतिक पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेमकुमार आलेले नेकपा (एकीकृत समाजवादी)ले चुनाव जित्ने दाबी गर्नुभएको छ ।
ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चर्तुदशी मेला महोत्सवको आज (शुक्रबार) उद्घाटन गर्दै उहाँले गफ नभइ जनताले थाहा पाउने गरी काम गरेर मन जितेरै चुनाव समेत जित्ने दाबी गर्नुभएको हो ।
एकीकृत समाजवादीका नेतासमेत रहनुभएका मन्त्री आलेले चुनावसम्मै वर्तमान गठबन्धन रहने बताउँदै भन्नुभयो, ‘समाजवादीले चुनाव जितेर देखाउँछ, मै जितेर देखाउँछु ।’ मेला महोत्सवमा आलेले देशको पर्यटन विकासका लागि बजेट प्रबन्ध गर्ने बताउँदै पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्वरोजगारलाई ध्यान दिएर मात्र योजनाहरु सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो ।
रोजगारी सिर्जना नहुने हो भने पर्यटनका नाममा हुने लगानीको अर्थ हुन नसक्ने उहाँको भनाइ छ ।
महोत्सव उद्घाटनपछि सम्बोधनका क्रममा मन्त्रीले आफूले थुप्रै सुधारका काम थालेको भन्दै कौडीको भाउमा बेचिन लागेको नेपाल एअरलाइन्स जोगाएको समेत दाबी गर्नुभयो । विमानस्थलमा यात्रुमाथि भइरहेको ठगी रोक्न नि:शुल्क ट्याक्सीको व्यवस्था आफूले गरेर सुधारका काम थालेको मन्त्री आलेको भनाइ छ ।
विदेश जानेहरुका लागि पीसीआर परीक्षण २ हजारबाट १ हजार २ सय तोकिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नम्बर ६ माटेमा रहेको प्रथम माटेबेसी शिद्धेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न बजेटको व्यवस्था गर्ने पनि उहाँले घोषणा गर्नुभएको छ ।