काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान ११ बज्दा पनि सुरु भएको छैन ।
उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको निर्वाचन अधिकृत राजु बस्नेतले बताउनुभयो । मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि भने आक्रोशित बनेका छन् ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहनुभएको छ । उहाँहरु शनिवार विहानैबाट मत माग्न व्यस्त रहनुभएको छ ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।
सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट मतदान हुँदैछ ।