राज दयाल
ओखलढुंगा । जिल्लामा चालु आर्थिक वर्षमा गत वर्षभन्दा धान उत्पादनमा कमी आएको । आर्थिक वर्ष २०७८/७९ मा गत आर्थिक वर्षभन्दा प्रति हेक्टर ९० केजीका दरले धान उत्पादनमा कमी आएको हो ।
कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
सोही क्षेत्रफलमा गत वर्ष १३ हजार २ सय ९ मेट्रिकटन धान उत्पादन भएको थियो । तर यो वर्ष भने १२ हजार ८ सय १२.७३ मेट्रिकटन मात्र धान उत्पादन भएको ज्ञान केन्द्रका निमित्त प्रमुख हेमबहादुर आलेमगरले जानकारी दिनुभयाे। उहाँका अनुसार गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३ प्रतिशत थियो भने यो वर्ष २.९१ प्रतिशत मात्र छ ।
यस वर्ष समयमै पानी परेको र धान खेती पनि बेलैमा लगाईएको थियो । तर धान पाकेर काट्ने बेलामा बैमौसमी वर्षाले क्षति पुर्याएका कारण पनि उत्पादनमा कमी देखिएको हुनसक्ने आलेगमरको भनाइ छ । जिल्लामा मकवानपुर १, खुमल ४ जस्ता उन्नत जात र अटे, जर्नेली लगायतका स्थानीय जातका धान खेती गरिँदै आएको छ ।
ज्ञान केन्द्रका अनुसार जिल्लाको सिल्खुबेसी, सेराबेसी, जरायोटार, बलखु, सेर्नाबेसी, टोक्सेल, टारकेराबारी, सेराफाँट, टोक्सेल लगायतका स्थान धान उत्पादन हुने मुख्य क्षेत्र हुन् ।