काठमाडौं । वरिष्ठ बामपन्थी नेता राधाकृष्ण मैनालीले एमालेले जनताको बहुदलीय जनवादलाई चितवन महाधिवेशनसँगै नारायणीबाट बगाएको बताउनुभएको छ । जनताको बहुदलीय जनवाद चितवनबाट बगाएपछि अध्यक्ष केपी ओलीमा धेरै सन्तुष्टि आएको हुन सक्ने मैनालीकाे दाबी छ ।
जनता टेलिभिजनकाे साप्ताहिक कार्यक्रम विशेष समयमा वरिष्ठ पत्रकार टंक पन्तसँग कुरा गर्देै नेता मैनालीले मदन भण्डारीको हत्या पनि चितवन दासढुंगामै भयो भने उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद पनि सोही नाममा त्यसका अध्यक्ष ओलीले सदाका लागि नारायणी नदीबाट बगाएको उहाँकाे भनाइ छ ।
एमालेका अध्यक्ष केपी ओली र आफू १४ वर्ष एउटै जेलमा जेल जीवन बिताएको र प्रधानमन्त्री भएपछि ओली आफैले बालुवाटार जाँदा दुइ घण्टा कुर्नु परेकाले त्यसपछि भेट गर्न पूरै मन मरेको उहाँले बताउनुभयाे ।
जेलमा बस्दा ओली जे जस्तो हुनुहुन्थ्यो तर शक्ति र सत्तामा पुगेपछि ओलीको अनुहार उही भएपनि बानी व्यवहारमा आमुल रुपमा परिवर्तन भएको मात्र होइन देशलाई भड्खालोमा हाल्ने गरी अहं र घमण्डले चरम रुप समेत लिएको मैनालीले टिप्पणी गर्नुभएको छ ।
केपी बा जय जय भन्ने बाहेक फरक विचार राख्नेलाई सिध्याउँदै जाने नीति अनुरुप नै ओलीले एमालेलाई वास्तवमा एमाले बनाउने माधब नेपाल जस्ता नेतालाई पार्टीबाट लखेटेको आरोप लगाउँदै नेता मैनालीले प्रधानमन्त्री पदबाट खुस्केर बालकोट बसेपनि जतिखेर पनि ओलीमा बालुवाटारकै ह्यांगओभर रहेको बताउनुभयाे ।
ओलीले बालुवाटारकै झयाल ढोका मेजमानी, बिस्तरा सम्झने गरेको उहाँको व्यवहारले देखाइरहेको मैनालीको टिप्पणी रहेको छ ।
झण्डै दुई तिहाइको सरकार र प्रदेश सरकार केपी ओलीकै दम्भ र अहंले गर्दा गएपनि पनि पार्टीका केही कार्यकर्ता उनलाई बा बा भन्दै हिड्ने गरेका छन् जुन पार्टी सिद्धिने मेलो भएको दाबी नेता मैनालीले गर्नुभएको छ । उहाँले नेपालमा संघीयता र धर्मनिरपेक्षता काम छैन भन्दै अब संघीयता नेपालले थेग्न नसक्ने भएकाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचारले देश जर्जर भइसकेकाले यही ढंगले अगाडि बढे देश ठूलै दुर्घटनामा पर्ने दाबी पूर्वमन्त्री समेत रहनुभएका नेता मैनालीले गर्नुभएको छ ।
वरिष्ठ बामपन्थी नेता मैनालीले माधब नेपालका पनि कमजोरी छन् तर पार्टीमा संगठक भनेका माधब नेपाल नै हुन केपी ओली होइनन् भन्दै नबौँ महाधिवेशनमा ५० भन्दा कम मात्र मतले अध्यक्षमा हारेका नेपाललाई पार्टीमा टिक्न नदिने गरी ओलीले जसरी भूमिका खेले त्यो पार्टीका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयाे ।
'माधब नेपालले १५ वर्ष पार्टी हाक्दा ओलीलाई त्यसै गरेको भए ओली कहिल्यै माथि उठ्न सक्ने थिएनन्', नेता मैनालीले भन्नुभयाे, 'बरु त्यो समयमा ओलीले मदन भण्डारी प्रतिष्ठानका नाममा गुट निर्माण गरेर त्यही संस्थाको शक्ति र आर्थिक बलमा थोरै मतले नबौँ महाधिवेशनमा अध्यक्षमा विजय हुनुभयाे ।'