झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेङ्गुका बिरामी फेला परेका छन् ।
विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ । हाल उनीहरु विर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारीदिनुभयो ।
विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको छ । उहाँले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताउनुभयो ।
डेङ्गु रोगी देखिए लगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताउनुभयो ।
मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेङ्गुका बिरामी फेला परेको छ । पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्रमित देखिएँसगै नगरपालिकाले लामखुट्टेबाट हुने डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । उहाँले तराईको जिल्ला भएका कारण झापा डेङ्गु रोगको उच्च जोखिममा पर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी काम गर्ने अख्तियारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्ने सक्ने बताउनुभयो ।
जिल्लामा दुई वर्षअघि डेङ्गु रोगकै कारण ५ सय बिरामी भएका थिए भने आधा दर्जन बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्कीमा डेङ्गुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न काम पालिकाले गरिरहेको उहाँको भनाइ छ ।