काठमाडौं । रातभर भएको मतगणनाको परिणामले राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनलाई बिजयी बनाएपछि परम्परागत रुपमकै राजसंस्था र हिन्दू राष्ट्रको वकालत गर्दै आएको पार्टीको भविश्य के हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ ।
हिन्दू धर्म र राजसंस्थाका कट्टर पक्षपाती सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा हुँदै कमल थापा जस्ता नेताको नेतृत्वबाट पहिलो पटक राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ ।
हिन्दू धर्मको वकालत गर्ने पार्टीका अध्यक्ष लिङ्देन भने किराँत धर्म मान्छन् । ‘हामी धर्मको महलमा किराँत लेख्छौँ,’ राजेन्द्रका भाइ तथा राप्रपा झापा क्षेत्र नम्बर ३ ‘ख’ अध्यक्ष रविन्द्र भन्छन्, ‘राप्रपाले दिएको विषय व्यक्ति र जाति विशेष हैन । पहिचानको कुरा हो । हामीलाई दोधार र अप्ठेरो हुँदैन । मेचीदेखि महाकालीका समग्र नेपालीलाई जोड्ने सनातन हिन्दू धर्म हो ।’
राप्रपाको नेतृत्व युवा पुस्तामा मात्र गएको छैन, पहिलो पटक गैर हिन्दूले राप्रपाको आगामी चार वर्षे विरासत धान्ने छन् । लिङ्देन किराँत धर्म मान्छन् । तर उनले नेतृत्व गरेको पार्टी राप्रपाका निर्वाचित सबै नेता हिन्दु धर्ममा विश्वास गर्छन् ।
पहिलो पटक गैर हिन्दूले नेतृत्व गरेको पार्टीले अब हिन्दू राष्ट्रको वकालत गर्दा लिङ्देनले अर्को एउटा चुनौती पनि सामना गर्दैछन् । प्यानल बनाएर भएको प्रतिस्पर्धामा उपाध्यक्षमा धवलमशेर राणाबाहेक लिङ्देन प्यानलका सवै पराजित भएका छन् ।
निवर्तमान संस्थापनका नेतासँग सहकार्य गरेर अब लिङदेनले राजसंस्था र हिन्दू राष्ट्रको वकालत गर्न कति चुनौती खेप्लान, त्यो हेर्न बाँकी छ । तर, परम्परागत नेतृत्वलाई युवा पुस्तामा ल्याउन राप्रपाका प्रतिनिधिले पुर्यएको विवेकले अन्य दललाई समेत नेतृत्व हस्तान्तरणका लागि दबाब भने अवश्य दिएको छ ।