काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा शुरू हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऊँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको हो ।
पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।
कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयाे । उहाँका अनुसार केन्द्रीय निर्वाचन समितिले पदाधिकारीबाहेकका सदस्यको निर्वाचनका लागि विद्युतीय भोेटिङ मेसिन प्रयोग गर्न सकिने’मा समेत पार्टी नेतृत्वसँग प्रस्ताव गरेको छ ।
‘कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा छ, पदाधिकारीबाहेक सदस्यको निर्वाचनका हकमा डिजिटल भोटिङ मेसिनको प्रस्ताव पनि निर्वाचन समितिबाट आएको छ, त्यस विषयमा पदाधिकारी बैठकले निर्णय गर्छ,’ प्रवक्ता शर्माले भन्नुभयाे ।
तर, कागजी मतदान हुने अवस्थामा भने एक मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नेगरी तयारी गरिएको छ । कांग्रेसले मतदानका लागि तीन स्थानसमेत तय गरिसकेकाे छ।
प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । यी विभिन्न स्थानमा भूगोलका आधारमा मतदानको व्यवस्था मिलाइनेछ ।
कांग्रेस महाधिवेशन २४ मंसिर १ बजे भृकुटीमण्डपमा प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।