बुटवल । बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ । आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ । सार्वजनिक–निजी साझेदारी (सानिसा)मा बहुवर्षे योजनाका रूपमा यसलाई अगाडि बढाइएको छ ।
बुटवल–९ मा रहेको लुम्बिनी बस टर्मिनल क्षेत्रमा रहेको किनं ५ को करिब चार बिघा क्षेत्रफलमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माण, सञ्चालन तथा हस्तान्तरण आयोजना अवधारणमा कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
बस टर्मिनल परिसरमा रहेको खाली जग्गामा उपमहानगरले सिटी सेन्टर बनाउन लागेको हो । अहिले भवन निर्माणलगायत प्रक्रियाका लागि सार्वजनिक सूचना जारी गरिएको छ । करिब दुई अर्ब बराबरको लागत अनुमान गरिएको छ । बुटवल उपमहानगरको भवन निर्माणसम्बन्धी मापदण्ड २०७४ खारेज गर्दै नयाँ मापदण्ड बनाएसँगै अब बुटवलमा तोकिएको क्षेत्रमा बहुतलाका भवन निर्माण गर्न सकिने छ । बढ्दो जनघनत्व र जग्गाको अभावलाई मध्यनजर गर्दै नयाँ अवधारणा बनाइएको प्रमुख सुवेदीले बताउनुभयो ।
सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्र बनाइने र बजार क्षेत्रमा सम्भाव्यता अध्ययन गरेर बहुतलाका भवन निर्माणको स्वीकृति दिने गरी नयाँ मापदण्ड बनाइएको उहाँको भनाइ छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएयता करिब ३०० बिघा सार्वजनिक जग्गा संरक्षण गरी सरकार मातहतमा ल्याइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७, ४३, ४४ समेतले दिएको अधिकार प्रयोग गरी बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्ड, २०७७ बनाएको थियो ।
सहरीकरण प्रक्रियालाई नियमन गरी स्वच्छ, स्वस्थ, दिगो तथा सबैलाई बस्नसमेत उपयुक्त सहरी वातावरण निर्माणका लागि साथै भू–उपयोग क्रियाकलापलाई सुव्यवस्थित ढङ्गले उपयोग गर्न, व्यवस्थित सहर, भूकम्पीय क्षतिको न्यूनीकरण, सहरी वातावरणको संरक्षण तथा संवद्र्धन, जनस्वास्थ्य तथा सरसफाइलाई प्राथमिकतामा राखेर बहुतले भवनको मापदण्ड बनाइएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवलमा निर्माण हुने हाइराइज अर्थात् बहुतले बहुउद्देश्यीय भवनहरूमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेशन बनाई प्राविधिकबाट अनुगमनसमेत गर्ने व्यवस्था मिलाइएको उपमहानगरका प्रवक्ता तथा पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले बताउनुभयो ।