काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप रहेको भन्दै भर्त्सना गर्नुभएकाे छ।
अध्यक्षमा पराजित भएको तेस्रो दिन मंगलबार विज्ञप्ति निकालेर उहाँले नेतृत्व चयनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेप रहेको भन्दै भर्त्सना र निन्दा गर्नुभएकाे हाे ।
त्यस्तै, थापाले कुनैपनि हालतमा पार्टीमा पूर्वराजाले गरेकाे हस्तक्षेप र पार्टीलाई भजनमण्डली बनाउने काेसिसलाई सफल हुन नदिने उद्घाेष गर्नुभएकाे छ । पूर्वराजा ज्ञानेन्द्रले भजनमण्डली बनाएको राप्रपाका नेतृत्वको चरित्रहत्या गर्ने र भ्रम सृजना गराउने कार्य भएको भन्दै उहाँले राजसंस्थाको मान्यतामा भने अहिले पनि आफू रहिरहेको बताउनुभएकाे छ।
‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाकाबारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ,’ विज्ञप्तिमा भनिएकाे छ, ‘नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतीकको रूपमा राजनीतिभन्दा माथि उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहिरहनेछ ।’
पार्टी महाधिवेशनमा भएको नेतृत्व चयनको चुनावी परिणामपछि सार्वजनिक आफ्नो अभिव्यक्तिलाई हार पछिको आक्रोशको रूपमा नबुझिदिन पनि उहाँले आग्रह गर्नुभएकाे छ ।
'अत्यन्त प्रतिकुल अवस्थामा पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यही हो । म नैतिक र धर्मसंकटमा परेको छु’, थापाले विवज्ञप्तिमा भन्नुभएकाे छ । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपाभित्र बहस शुरू हुने थापाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।