काठमाडाैं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाइरहँदा अफगान सङ्कट र सङ्गठनको १९ औँ शिखर सम्मेलनको अनिश्चितताले उनीहरूलाई पिरोलिरहेको छ ।
अतिवादी समूह तालिवानले अफगानिस्तानको शासन व्यवस्था बलपूर्वक आफ्नो हातमा लिएपछि सङ्गठनको कान्छो सदस्य राष्ट्रको भविष्य अन्योलग्रस्त मात्र भएको छैन अपितु भारत र पाकिस्तानबीचको मनोमालिन्यले पहिलेदेखि नै गतिहीन सार्क प्रक्रियालाई थप दिशाविहीन बनाएको छ । मालदिभ्सको राजनीतिक अस्थिरताले पनि त्यसलाई मलजल गरेको छ ।
सात वर्षदेखि शिखर सम्मेलनको तयारी गरेर चाँडोभन्दा चाँडो मिति घोषणा हुने विश्वासका साथ व्यग्र प्रतीक्षामा रहेको पाकिस्तानले द्विपक्षीय मतभेदका विषयले सार्कलाई बन्दी बनाउन नहुने अभिव्यक्ति सार्वजनिक रुपमा व्यक्त गर्दै आएको छ । सार्क प्रक्रिया अवरुद्ध हुन नहुनेमा सबै सदस्य राष्ट्रबीच मतैक्यता रहे पनि १९औँ शिखर बैठक नहुँदा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने सामूहिक लक्ष्यमा तुषारापात भएको छ ।
लामो समयदेखि १९औँ शिखर सम्मेलन अवरुद्ध हुँदा इतिहास र संस्कृतिले बाँधिएका आठ राष्ट्रको मञ्च सार्कले दक्षिण एशियाको द्रुत सामाजिक प्रगति र आर्थिक विकासबाट यस क्षेत्रका जनताको हित प्रवद्र्धन, उनीहरूको जीवनस्तरमा सुधार, सार्वभौमसत्ताको सिद्धान्तलाई इमानदारीका साथ पालना गर्दै शान्ति, स्थायित्व, सौहार्दता अभिवृद्धिलाई केन्द्रमा राखेर समानता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, शक्तिको प्रयोग नगर्ने तथा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूणर् समाधान गर्ने लक्ष्य प्राप्तिमा पनि व्यवधान सिर्जना भएको छ ।
सार्कका पूर्वमहासचिव अर्जुनबहादुर थापा वर्तमान सङ्कटबाट मुक्ति पाउन र नेपालसहितका सार्कका संस्थापकहरूले परिकल्पना गरेको ‘एकीकृत एवं समृद्ध दक्षिण एसिया’लाई साकार पार्न प्रभावकारी क्षेत्रीय सहयोग अपरिहार्य भएको बताउनुहुन्छ ।
क्षेत्रीय सहयोग सुदृढीकरणका लागि साफ्टा, यातायात, शिक्षा, आन्तरिक/गृह मामिला, गरिबी निवारण, महिला, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण र विज्ञान तथा प्रविधि जस्ता सहयोगका प्राथमिकताका क्षेत्रमा थप बहस र छलफल उत्तिकै आवश्यक छ । अशिक्षा, गरिबी र अविकासबाट पार पाउने दक्षिण एसियाका जनताको आशा र आकाङ्क्षालाई सम्बोधन गर्ने प्रभावकारी क्षेत्रीय मञ्च मानिएको सार्कको विकल्प छैन ।
यस वास्तविकतालाई मनन गरी दिगो एवं अर्थपूर्ण क्षेत्रीय सहयोग नै यस क्षेत्रको शान्ति र समृद्धिको एक मात्र माध्यम भएकाले सार्कलाई पुनःजीवन दिन सदस्य देशका उच्च राजनीतिक नेतृत्वले भगीरथ प्रयत्न गर्नैपर्छ ।