काठमाडौँ । नेपालका सबै मूल राजनीतिक पार्टीहरुले आफूहरुको जनाधार बलियो रहेको दाबी गर्दै आएको छ । महाधिवेशन र स्थानीय तहको निर्वाचनलाई आधार बनाएर दलहरुले विभिन्न सभ सम्मेलन गरेर शक्ति प्रदर्शन समेत गर्दै आएको छ ।
विशेष गरेर केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् । नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना सशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताउनुभयो । पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पुपरेयाउने उहाँको विश्वास छ ।
कार्यकर्ताको संख्यालाई आधारमा सत्तारुढ नेपाली काँग्रेस सबैभन्दा बलियो देखिएको छ । मङ्सिर २४, २५ र २६ गते हुने १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण गरेको काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि भएको दाबी गरेको छ । कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजारभन्दा बढी रहेको छ ।
काँग्रेसले आठ लाख ४० हजार १०६ जना क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ । बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको उहाँले बताउनुभयो ।
हालै मात्र १० औँ महाधिवेशन सम्पन्न गरेको नेकपा (एमाले) ले पार्टीका सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको दाबी गरेको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी फुटको वावजुद एमालेमा युवाको प्रतिनिधित्व वृद्धि भएको जानकारी दिनुभयो ।
राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले पनि सङ्गठन विस्तार तीव्र पारेको छ । उसले वडा तहदेखि नै सङ्गठन निर्माण गरिरहेको छ ।
माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले पार्टीका सङ्गठित सदस्य सात लाख ५० हजार पुगेको बताउनुभयो । उहाँले थप ५० हजार सङ्गठित सदस्य थपिने बताउनुभयो ।
सबैभन्दा कान्छो पार्टी नेकपा एकीकृत समाजवादीले पनि संगठन निर्माण र संगठित सदस्य बढाउने अभियानलाई तीव्र बनाएको छ । यसका लागि अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरु समेत देश दौडाहामा लागिरहनुभएको छ । एकीकृत समाजवादीले ‘एक वडा एक हजार पार्टी सदस्य र एक सय सङ्गठित सदस्य’को अभियान सञ्चालन गरिरहेको छ । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन निर्माणका लागि तीनमहिने अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले एकीकृत समाजवादीमा झन्डै तीन लाख सङ्गठित सदस्य अहिले पनि रहेको बताउदै तीनमहिने अभियानमार्फत छ लाख सङ्गठित सदस्य पु¥याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
आइतबारमात्रै नयाँ नेतृत्व पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले देशभरि रहेको सङ्गठनमा एक लाख ५० हजार सदस्य रहेको जनाएको छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले साङ्गठनिक संरचना सुदृढ गर्नुपर्नेमा जोड दिनुएको छ । पार्टीको सङ्गठन बलियो बनाउन अभियान नै थाल्ने योजना रहेको उहाँले बताउनुभयो ।
कुन दलका कति क्रियाशील सदस्य ?
काँग्रेस –आठ लाख ७० हजार
एमाले–आठ लाख ५५ हजार
माओवादी केन्द्र–सात लाख ५० हजार
एकीकृत समाजवादी–६ लाख
राप्रपा–एक लाख ५० हजार