कर्णाली । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । अझ अर्काे खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।
पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफै दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ।
प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन् । विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो ।
विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पु¥याइरहेको छ । प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस)को पढाइ शुरु गरेको छ । यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्नुहुने उपकुलपति डा रावलले जानकारी दिनुभयो । करिब ६८ करोडमा बन्न थालेको शैक्षिक भवन दुईवटा पाँचतले हुनेछ ।
कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (विएन) २० र ब्याचलर अफ फार्मेसी (विफार्मेसी)मा २० जना विद्यार्थीको पढाइ शुरु भएको छ । विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) शुरू भइसकेको छ ।
यस्तै, प्रतिष्ठानमा नै चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ । बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा (जिपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत बर्षबाट सञ्चालन भएको प्रतिष्ठानका डिन डा रमेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ ।