हुमाकान्त पोखरेल
गुल्मी । जिल्लामा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्वार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसोएसले संरक्षण गरेको हो ।
मदाने गाउँपालिका ५ मलायगिरीका ४ वर्षीय बालक कुलदिप र १३ वर्षीया बालिका लक्ष्मी विक चार वर्षदेखि अभिभावकविहीन थिए । मालिका ३ ह्वाङदीका ५ वर्षीय सन्दिप र ३ वर्षीय प्रदिप घर्ति मगर १४ महिनादेखि अभिभाव विहीन भएका थिए ।
लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसँग आफन्त र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेश भएको थियो । बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसओएमा बालबालिका भर्ना गरिएको इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले जानकारी दिनुभयाे ।
मदानेका दुई दिदि भाई गाउँपालिका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुई दाजुभाई वडाध्यक्ष राजकुमार विकले एसोएसमा लगेर भर्ना गरेका हुन् । एसोएस भैरहवाको टोलीले ११ कार्तिमा गाउँ आएर बालबालिकाको वास्तविक अवस्था प्रतिवेदन बनाएको थियो । प्रतिवेदनको आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयाे । भर्ना भएका मध्ये दिदि लक्ष्मी विक काठमाण्डौ होटलमा काम गर्थिन् । ढकालले अभिभावकविहीन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसोएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताउनुभयाे ।
एसओएको सिद्धान्तमा पनि भाइबहिनीलाई छुटाउन नपाइने भएकाले होटलबाट समेत उद्वार गरेर संरक्षण गर्न पाएकोमा ढकालले खुशी व्यक्त गर्नुयभाे । गाउँमा निकै बिचल्लीमा परेका बालबालिकाको उद्वार भएपछि निकै खुशीको महसुस गरेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयाे ।
एकै परिवारका चार जनाको मृत्यु
मदाने ५ का लक्ष्मी र कुलदिप विकका बुबा आमा चार महिनाको फरकमा बिते । बुबा मीन बहादुर विक ०७६ बैशाखमा बिते । आमा जुठी विक सोही वर्षकै भदौमा बितिन् । मीन बहादुर विक भारतमा मजदुरी गर्थे । मीन बहादुरका १४ वर्षीया छोरी अस्मिता विक र २१ वर्षीय छोरा सुर्य विकको पनि केही वर्ष पहिले भारतको जीरापुरमा गाडीले ठक्कर दिएर मृत्यु भएको थियो ।
छोरीको मृत्युको चोट नसेलाउँदै कमाउन थालेको छोराको पनि मृत्यु भएपछि शोक र रोगले मिन बहादुर थला परे । भारतमै दुई छोराछोरीसहित श्रीमानको ज्यान गएपछि तीन छोराछोरी बोकेर जुठी गाउँ आएको वडाध्यक्ष हिमाल खड्काले जानकारी दिए । गाउँ आउने बित्तिकै बिरामी परेकी आमा पनि बितिन् । जसका कारण बालबालिका बिचल्लीमा परे ।
बालबालिकाको टाउको ओत्ने घर थिएन । एक टुक्रो जमिक पनि साहुको बन्धकीमा रह्यो । लक्ष्मीले डेढ वर्षको दुधे भाइ र ९ बर्षकी बहिनी मोनिका हुर्काइन् । मिठो खाएनन् । स्कुल पाएनन् । दैनिक अवस्था बल्झिदै गएपछि केही समय अघि बहिनी मोनिका भारत आफन्तसँग गइन् । लक्ष्मीले काठमाडाैंकाे होटलमा मजदुरी गर्न थालिन् । भाइ गाउँमै आफन्तको थिए । मोनिका भारतबाट नआएकाले अहिले लक्ष्मी र कुलदिपलाई एसओएमा संरक्षण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयाे ।
बाबुले आत्महत्या गरे आमाले छोडिन्
मालिका गाउँपालिका ३ का चन्द्र बहादुर घर्ति मगरले ११ असोज ०७७ मा आत्महत्या गरे । दशैंको अर्को दिन आत्महत्या गरेकाले परिवार शोकमा डुब्यो । श्रीमान बितेपछि पाँच महिना नपुग्दै फागुनमा टीका घर्तिमगर अर्कैसँग बिहे गरेर घर छोडिन् । ५ वर्षीया सन्दीप र ३ वर्षका प्रदिप घर्ति मगर घरमै अलपत्र परे ।
अभिभावविहीन बालक करिव एक वर्षदेखि गाउँमै अलपत्र थिए । उचित खानपान र स्याहारको अभावमा दुई भाइनै शारीरिक रुपमा तन्दुरुस्त छैनन् । सन्दीपले एक आँखाले देख्दैनन् भने प्रदिपमा पनि कुपोषणको समस्या रहेको मालिका गाउँपालिका ३ का वडाध्यक्ष राजकुमार विकले जानकारी दिनुभयाे ।
‘गाउँमा उनीहरुको अवस्था देख्दा भक्कानो फुट्थ्यो । अभिभावकनै नभएपछि अरुले कतिन्जेल सहयोग गर्ने,’उहाँले भन्नुभयाे, ‘इन्सेक र एसओएले निकै ठुलो गुण लगाउनु भएको छ ।’
मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले दुई दाजुभाईको अवस्था देखेर पनि स्थानीय तहको तर्फबाट संरक्षणको लागि केही गर्नु नसक्नु बिडम्बनाको विषय भएको बताउनुभयाे । आफूहरुले पाँच वर्षमा भौतिक पुर्वाधारसँगै आर्थिक समाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेपनि बालकहरुको अवस्थाले कम्जोर महसुस भएको गिरीले बताउनुभयाे । उहाँले जिल्लामा सवै स्थानीय तहको पहल र समन्वय भए अनाथ बालबालिकाहरुकाहरुको लागि राम्रो काम गर्न सकिने बताउनुभयाे ।