काठमाडौँ । १४ औं महाधिवेशनको मिति नजिकिएसँगै नेपाली काँग्रेसमा आगामी नेतृत्व कसले गर्ने भन्ने विषय निकै पेचिलो बनेको छ ।
सभापतिमै आकांक्षी धेरै भएपछि अन्य पदाधिकारी गौण बनेको छ । संस्थापन पक्षमा सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दोहोर्याउने विषयमा सर्वसम्मत भए पनि संस्थापन इत्तर भने सहमति जुटाउन सकस परेको छ । संस्थापन इत्तरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहको दाबी रहेको छ । तर साझा उम्मेदवार तय गरेर जानुपर्छ भन्नेमा भने यो समूह पनि सहमत छ ।
त्यसैले आफूमध्येबाट सभापतिको साझा उम्मेद्वार तय गर्न कांग्रेसका चार नेता अहिले चाक्सीबारीमा छलफलमा जुटेका छन्।
सभापतिमा शेरबहादुर देउवाविरुद्ध लड्न संस्थापन इतर पक्षबाट एक जना मात्रै उम्मेद्वार बनाउन पौडेल, सिंह, सशांक कोइराला र शेखर कोइराला गोप्य छलफलमा बस्नुभएको हो ।
मंगलबार बसेको बैठकमा सभापतिका आकांक्षी सशांक कोइराला रामचन्द्र पौडेलललाई उम्मेदवार बनाउने शर्तमा पछि हटे पनि प्रकाशमान सिंह र डा शेखर कोइरालाले दाबी छोड्नुभएको छैन ।
बुधबार नै चाक्सीबारीमा बसेको अरु नेतासहितको बैठकमा कुरा नमिलेपछि आकांक्षी चारजनालाई मात्रै छलफल गरेर निष्कर्ष पुग्न दबाब परेको हो।
बुधबार बिहान बत्तीसपुतलस्थित एक पार्टी प्यालेसमा बसेको स्थापन इतर समूहका केन्द्रीय सदस्य, सांसद, प्रदेशसभाका अध्यक्ष, जिल्ला सभापतिको भेलाले एकल उम्मेद्वार छान्न दबाब दिएको थियो।
बिहानको छलफलपछि चाक्सीबारीमा सभापतिका चार जना आकांक्षी फेरि छलफलमा जुटेका हुन्। पौडेल पक्षले जसरी पनि देउवाविरुद्ध एउटा मात्रै उम्मेद्वार बनाउने प्रतिबद्धता जनाएको छ।