काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शुक्रवार दिउँसो १ बजे भृकुटी मण्डपमा हुँदैछ । महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ ।
महाधिवेशन उद्घाटनका बेला काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने प्रहरीको आकलन छ । तर, ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी नेपाली काँग्रेसले उद्घाटनअघि जुलुस ननिकाल्ने निर्णय गरेको छ । त्यसैले सवारी जाम तुलनात्मक रुपमा कम हुने ट्राफिक प्रहरी महाशाखाको दाबी छ ।
तर, दिउँसो महाधिवेशन उद्घाटनको समयमा प्रदर्शनीमार्ग, टुँडीखेल, सुन्धारा, पुतलीसडक र माइतीघरमा सवारी जाम हुने महाशाखाले जनाएको छ ।
महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपतर्फ जाने सड्कमा ट्राफिक महाशाखाले सवारी–साधन डाइभर्ट गर्ने निर्णय गरेको छ । पद्मोदय मोडबाट पर्यटनबोर्डतिर जाने सवारीलाई विहान १० बजेपछि डाइभर्ट गरेर पुतलीसडकतर्फ पठाइनेछ । रत्नपार्कबाट आएका गाडी र मोटरसाइकल पनि राष्ट्रिय सभागृहतर्फ छिर्न पाउने छैनन् ।
महाधिवेशनमा जाने गाडी र मोटरसाइकललाई खुल्लामञ्चमा पार्किङ गरिने छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा पार्किङ गर्न अनुमति दिएको छ । महानगरले खुल्लामञ्चसँगै यसअघि संचालित बसपार्कमा पनि पार्किङ अनुमति दिएको छ ।
पद्मोदय–सभागृह सडक खण्ड बाहेक अन्यत्र सवारी डाइभर्ट गरिएको छैन । भीआईपीका सवारी साधन भृकुटीमण्डपभित्रै पार्किङ गरिने छन् ।