काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
निर्वाचित समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय भएको छ । आवश्यक सबै प्रक्रिया पुरा गरेर २७ गते बिहान ८ बजेदेखि मतदान हुनेछ । काँग्रेसको महाधिवेशन अन्तरगत शुक्रबार उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ।
निर्वाचनबाट काँग्रेसमा १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ । कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
आगामी कार्यकालका लागि सभापतिमा शेरबहादुर देउवा र विमलेन्द्र निधीले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।