-हरिश कल्पित
प्रेम प्राप्तिमा मात्र होइन त्यागमा पनि हुन्छ भन्थे । हुन त हो तर त्याग्न कति गाह्रो हुदोरहेछ । त्यसको अनुभव आज भइरहेको छ । हलपल उनकै मुहार मात्र आँखाअगाडि नाचिरहन्छ । म उनलाई बिर्सन चाहन्छु ।
तर किन जति भुल्न चाहन्छु उत्ति नै सम्झनाका लहर मेरो मनमा तीव्र वेगको ज्वारभाटाझैं आइरहन्छन् । उनले मलाई धोका दिइन् । निष्ठुरी हुन् उनी । आत्मा साक्षी राखेर यो भन्न पनि सक्दिनँ म । अनि मैले उनलाई धोका दिएँ –यो पनि साँचो होइन । तर पनि किन त मेरी हुन सकिनन् उनी । उनीप्रति अझैँ पनि मेरो हृदयमा चोखो माया छ । अगाध स्नेह छ ।
जुरुक्क उठ्छु झयालमा जान्छु । झयालबाट टाढा टाढा आँखा फैलाउने कोसिस गर्छु । तर ...... अफसोच झ्याल बाहिर पनि अन्धकारै अन्धकार छ । निस्पट्ट अन्धकार मेरो जीवनजस्तै । उज्यालोको प्रतिक्षामा पग्लँदै पग्लँदै गएका अन्धकारहरु । मन उकुसमुकुस हुन्छ । झ्याल खोल्छु । चिसो सिरेटोको एक झाँेका झ्यालबाट भित्र पस्छ । चिसिँदै गएको मनलाई अझ चिसो बनाउँछ । पुनः झ्याल बन्द गर्छु । घडी हेर्छु , रातको १२ बजेछ । सुस्तरी एल्बम निकाल्छु र बेडमा आउँछु । एकएक गरेर पल्टाउन थाल्छु । एक्कासी मेरा आँखा एउटा फोटोमा गएर ठोकिन्छन् । फोटोले विगतका ती अविस्मरणीय क्षणलाई आँखाअगाडि ल्याएर राखिदिन्छ ।
ल्याङ्गवेज क्लासको अन्तिम दिन हामी सबै एकअर्कामा खुसी बाँडिरहेका थियौ । हामी सबै फोटो खिच्न व्यस्त थियांै । मचाहिँ सकेसम्म देवयानीसँग फोटो खिच्न लालायित भएको थिएँ । ग्रुप फोटो खिचाउँदा जहाँजहाँ उनी बस्थिन् आफ पनि त्यहीँ गएर उभिन्थेँ । क्लासको सबैभन्दा राम्री युवती , पहिलो भेटमै म उनीप्रति आकर्षित भएको थिएँ । हाम्रो भेट ब्रिटिस काउन्सिलको ल्याङ्गवेज क्लासमा भएको थियो ।
ब्रिटिस काउन्सिलमा ल्याङ्गवेज पढेमा टाभल्समा जागिर पाउन सजिलो हुन्छ भन्ने लागेर नै म त्यहाँ पढ्न गएको थिएँ । किनकी राजधानी छिरेको मजस्ताको लागि जागिरबिना बाँच्नु निकै कठिन थियो । अध्ययनको साथसाथै म जागिर पनि खान चाहान्थेँ ।अफसोच,असफलताले मलाईसाहै नै निराश तुल्याएको थियो ।
ल्याङ्गवेज क्लासको पहिलो दिनमै उनको सुन्दरताले मलाई तानिसकेको थियो । पहिलो क्लास परिचयमा नै बित्यो । उनको नाम देवयानी राणा रहेछ । घटेकुलोमा बस्दिरहिछन् । डिप्लोमा गर्दै रहिछिन् । क्लास लिने क्रममा हामो भेट बढ्दै गयो । उनी म सँग खुलेर बोल्थिन । ल्याङ्गवेज क्लास न ठहरियो , एक अर्कासँग खुल्न नसके कसरी भाषा सिक्ने ?
म क्रमशः देवयानीप्रति आकर्षित भइरहेको थिएँ । भनौ भने उनले मेरो मुटुमा सुटुक्क डेरा जमाइसकेकी थिइन् । हुन पनि उनको बोली साह्रै मीठो थियो । क्लासमा सबभन्दा बढी मैसँग बाेिल्थन् । म उनीलाई जिस्कयाइरहन्थँे । उनी हाँसिरहन्थिन् । म उनको हाँसोमा डुब्दै जान्थेँ , डुब्दै जान्थेँ ।
राजन तिम्रो त बिहे भइसक्यो रे हो ? क्यान्टिनमा सबै साथीका अगाडि मलाई जिस्काउने सुरले एक दिन उनले भनेकी थिइन् । मैले हतपताउँदै भने, ‘कहाँ हुनु ।.कल्ले भन्यो तिमीलाई म अझैँसम्म कुमार नै छु ।’ सबैजना गलल्ल हासे । ‘ऊ मणिले भनेको , अस्ति तिमी एउटी केटीसँग न्यु रोडमा सपिङ गर्दै थियौ रे , हैन मणि ?’ तिनले मणितर्फ हेर्दै भनिन् । ‘हामीलाई चाहिँ बिहे गरेको छैन भनेर ढाँटने ?’ उनले घुर्कीको शैलीमा भनिन् । मलाई झनक्क रिस उठ्यो , सोचँे मणिले भड्कायो होला । रिसले आँखै देखिनँ । ‘हो , हो , मेरो बिहे भइसक्यो । यो जत्रो त छोरो पनि छ ।’ मणिलाई देखाउदै जुरुक्कै उठेर घरतर्पm लागेँ । सबैजना हाँसे तर देव्यानीको भने हाँसो सुनिएन ।
भोलीपल्ट म चुपचाप बसेको देखेर देवयानीले आएर, ‘सरी राजन ’ भन्दै मसँगै कुर्सीमा बस्दै भनिन्– ‘मैले त खाली जिस्क्याएकी मात्र । तिमीले त सिरियस्ली लिएछौ ।’
यसरी दिनहरु क्रमशः पग्लिरहेका थिए । देवयानीप्रतिको मेरो प्रेम दिन परदिन मौलाउँदै गइरहेको थियो । प्रेमको जादुले मलाई लठ्याइरहेको थियो । म मौकाको प्रतिक्षामा थिएँ कि देव्यानलिाई आफ्नो मनको कुरा पोखिदिने । मलाई पूरा विश्वास थियो कि उनी पनि मलाई चाहन्छिन् । हुन सक्छ यो मेरो भ्रम थियो वा उनीप्रतिको अन्धो पे्रम । यति कुरामा मलाई पूरा विश्वास थियो कि उनी मेरो समीप रहन सधैँ उत्सुक देखिन्थिन् । जब म क्लासमा छिर्थे उनको आँखामा चमक आउथ्यो । क्लासमा त अरु केटा पनि थिए तर उनी भने र्सिफ मैसँग मात्र बढी बोल्न चाहन्थिन् । कहिलेकाहिँ क्लास नगएका दिन भोलिपल्ट जाँदा उनलाई स्पष्टिकरण दिनुपथ्र्यो । सबभन्दा पहिले उनी नै अगाडि सर्दै भन्थिन्, ‘राजन हिजो किन नभएको ? कस्तो बोर भयो क्लास त हगि मणि । ’ मणिलाई साक्षी बनाउँथिन् ।
एकदिन मैले सोचेँ– हेरुँ देवयानी मेरो समीप रहन चाहन्छिन् कि चाहन्नन् । या मप्रतिको उनको आकर्षण केवल मेरो भ्रम हो । म जाँच्न चाहन्थे । त्यसैले सधैँ बस्ने सिटभन्दा केहि पर मणिसँगै बस्न गएँ । त्यस दिन उनीसँगै मेरो सिटमा अरु नै बसे । क्लासभरि नै उनी मलाई इसारा गरिरहिन् कि उनीसँग किन बस्न नआएको भनेर ? म मनमनै प्रफुल्ल भएँ । सबभन्दा अचम्म त भोलिपल्ट लाग्यो किनकि उनी पनि हामीसँग बस्न आइपुगिन् । ‘किन राजन त्यहाँ किन नबसेको मलाई त क्या बोर लाग्यो । म पनि यहीँ बस्छु है । ’ मैले इसाराले मुन्टो हल्लाएँ । मेरो आकर्षणले त उनलाई पनि लठ्याएकै रहेछ । मनमनै सोचेँ पक्कै पनि देवयानी मसँग प्रेम गर्छिन् ।
‘किन देवयानी राजनलाई छोड्न मन लागेन?’ मणिले जिस्काउँदै भन्यो ।
उनी पनि के कम थिइन् र हास्दै भनिन् ‘तिमीले मेरो राजनलाई किन फसाएको हँ ।’ मलाई हेर्दै मुस्कुराउँदै उनी मसँगै बसिन् । म हर्षले विभोर भएँ । मन खुसीले नाच्न थाल्यो । चारैतिर प्रेमका रङ्गैरङ्ग देखेँ , नीलो , रातो , हरियो , पहेँलो । ती रङ्गमा आफु रङ्गमगिँदै गएँ ।
‘राजन !’ मणिको आवाजले झस्केको थिएँ । ‘कहाँ हरायौ तिमी ? ’ मैले आफुलाई समाल्दै भने, ‘कहाँ हराउनु नि यतै त छु देवयानीसँगै ।’ दिन क्रमश मैनबत्तीझैं पग्लिरहेको थियो । यसरी हाम्रो क्लासको अन्तिम दिन पनि आयो । त्यस दिनमा हामी सबै फोटो खिच्न तल्लीन थियौँ । मैले हत्तपत्त देवयानीसँग फोन नम्बर मागेँ । तिनीले खुसीसाथ दिइन् र मेरो पनि फोन नम्बर मागिन् तर अफसोच मैले दिन सकिनँ । मेरो डेरामा फोन थिएन ।
क्लास सकियो । त्यसबीचमा मेरो एमएको जाँच पनि आयो । अन्तिम वर्ष भएकाले खुबै मिहेनतसाथ पढेँ । जाँच पनि सकियो , धेरै राम्रो भयो । मनमनै सोचेँ –एम ए पास भएपछि त कसो जागिर नपाउँला ? त्यसपछि मात्र बिहे गरुँला । कमसेकम हातमुख जोर्न सक्ने त हुनुप¥यो । प्रेमले मात्र त पेट भरिँदैन । दुई महिना बितिसकेछ , ल्याङ्गवेज क्लास सकिएको । यसबीचमा मलाई देवयानीको सम्झनाले पनि धेरै सताइरह्यो । तर पनि जाँचैको कारणले फोन गर्न सकिनँ । जाँच सकिएपछि एकदिन मैले उनको घरमा फोन गरेँ , ‘हलो देवयानी छिन् ?’ उताबाट मधुर स्वर गुन्जियो ‘ए राजन ! के छ हालखबर ? बल्ल फुर्सद पायौ फोन गर्ने ? म त तिमीले बिर्सिसक्यौ होला भनिठानेकी थिएँ ।’ उन्मुक्त हाँसो हाँसिन् देवयानी । मैले रोमाञ्चित हुँदै भनेँ, ‘तिमीलाई कहाँ बिर्सन सक्छु र ?’ उताबाट हाँस्दै देवयानीले भनिन् ‘साँच्चै राजन मलाई पनि तिम्रो याद आइरहेको छ । हाम्रो ल्याङ्गवेज क्लास त अविस्मरणीय भयो हगि कस्तो रमाइलो थियो ।’
‘हो त नि क्लास सकिर्एर त क्या बोर भइरहेछ । त्यसमाथि तिमीलाई भेट्न नपाएर झनै बोर भइरहेको छ । ’मैले पनि आफनो मनको वेदना पोखिदिएँ । देवयानीले हाँस्दै भनिन्, ‘साँच्नै हो राजन ।’
‘हेर न मलाई पनि तिमीलाई भेट्न कस्तो मन लागिरहेको छ । तिमीलाई भेटेर म एउटा सरप्राइज पनि दिन्छु ल । ’ मेरो मनमा उमङ्गको ज्योति झुल्कियो । मन हर्षले नाच्न थाल्यो , ‘कहिले भेट्ने त ?’ मैले उत्साहित हुँदै भनेँ, ‘तिमीलाई पनि एउटा खुसीको खबर सुनाउँछु ।’
म मनमन साह्रै रोमाञ्चित भइरहेको थिएँ । अब म मेरो प्रेमलाई प्रस्ताव राख्नेछु । मनमनै अठोट गरेँ । हेर्दाहेर्दै आठ महिना बितिसकेछ र समयलाईै कसले रोक्न सक्छ र? मनमनै गुन्न थालेँ , के होला उनको सरप्राइज ? पक्कै पनि एयर होस्टेजमा नाम निकाली होलिन् । किनकि उनी बरोबर भन्ने गर्थिन् कि उनको सपना नै एयर होस्टेज बनेर उड्ने थियो ।
म आफैँ पनि जागिरका लागि भौतारिँदा भौतरिँदा कायल भइसकेको थिएँ । बेरोजगारीको चेपमा पिल्सिएर निराश भएको थिएँ । काठमाडौँको बसाइ मेरा लागि दुस्कार हुँदै गएको थियो । घरबाट पठाएको पैसाले जीवन धान्न कठिन हुँदै गएको थियो । पढेलेखेको भएपनि बिनासिफारिस , बिनाचिनजानले गर्दा मैले जागिर गर्न सकिरहेको थिइनँ । छोरा पढोस् , ठूलो मान्छे बनोस् भन्ने बाबुआमाको सपना बिस्तारै बिस्तारै धुमिल हुँदै गएको थियो । बेरोजगारीले गर्दा त्यसैत्यसै बरलिन परेको थियो ।
बाहिर कुकुर रोएको आवाज टड्कारो सुनिन्छ । यो कुकुर पनि किन रोएको होला । बिस्तारै उठ्छु । सुइयँ लामो सुस्केरा तान्छु । एल्बम पल्टाउँछु र साबिककै ठाउँमा लगेर राख्छु । निद्रा लाग्दैन । मनमा आँधीबेहरी चलिरहेको हुन्छ । सपनाको महल हेर्दाहेर्दै खण्डहरमा परिणत भएको देख्छु । साह्रै प्यास लाग्छ । एक गिलास पानी पिउँछु र पुनः ओछ्यानमै आउँछु । घडी हेर्छु , रातको दुई बजिसकेछ । अब सुत्नुपर्छ । भोलि ११ बजे त काठमाडौँ टाभल्स पुग्नु छ । इन्टरभ्युको लागि बोलाएको छ ।
जिन्दगी बाँच्नको लागि भए पनि त केही न केही उपक्रम गर्नै पर्दोरहेछ । के गर्ने सोचेको जस्तो हुन्न रहेछ जीवन ? के सोचेको थिए , के भयो । अनायसै आँखा रसाएर आउँछन् । मन भारी हुन्छ । ओछ्यानमा पल्टन्छु । निदाउने कोसिस गर्दे आँखा चिम्लन्छु । तर निद्राको साटो मेरो आँखामा दिउँसोको घटनाहरु एकपछि अर्को गर्दै नाच्न थाल्छन् ।
कति उत्साह मनमा साँचेर राखेको थिएँ । देवयानीलाई भेटेर मनको भारी बिसाउने । तर झन् गह्रुँगो भएर फर्किएको छु ।
बानेश्वरको बेकरी क्याफेमा साढे एक बजे नै पुगेको थिएँ । चारैतिर हेरेँ । । फाटफुट युगल जोडी थिए । म सरासर कुनाको टेबलमा गएर बसेँ र उनलाई कुर्न थालेँ । आज मैले प्रेमको सुन्दर फुलबारीमा घर बनाउँने सपना देखेको थिएँ । सपनाकी रानीलाई हृदयको सिंहासनमा बसाउने अठोट लिएको थिएँ । छिनछिनमा घडि हेर्दै थिएँ । एक बजेर पाँच मिनेटगयो । दस मिनेट गयो , हेर्दाहेर्दै आधी घन्टा बितिसक्यो त्यही पनि देवयानी आइनन् दुई कप चिया रित्याइसकेँ तर पनि उनी आइनन् । साँच्चै प्रतिक्षाको घडी साह्रै सकसपूर्ण हुँदोरहेछ ।
खै आउँदिन होला । मजस्तो केही नभएको बेरोजगारलाई कसले महत्व राख्छ र हेर्दाहेर्दै दुई बजिसकेछ । चारैतिर हेर्छु पुराना ग्राहक सबै एकएक गर्दै गइसके , ममात्र एक्लै , वेटरहरु सबै मलाई नै हेरिरहेझैँ लाग्छ । के गर्नै ठम्याउन सक्दिनँ । भएन अब चुरोट खानुपर्यो मनमनै विचार गर्छु । चुरोट सकुन्जेल पनि आइनन् भने त हिँड्छु । मन अमिलो हुन्छ । वेटरलाई हातले इसारा गरेर चुरोट ल्याउन अह्राउँछु । वेटर कुरा बुझेझैँ गरी मुन्ँटो हल्लाउँछ । एकै छिनमा दुई खिल्ली चुरोट प्लेटमा सजाएर मेरो अगाडि राखिदिन्छ । म हत्तपत्त चुरोट उठाउँदै सल्काउन सलाई कोर्छु । यत्तिकैमा दुई युवती क्याफेको गेटमा देखा पर्छन् । तीमध्ये एउटीचाहिँ देवयानी रहिछिन् । उनी जिन्स पाइन्ट र रातो टिसर्टमा सजिएकी थिइन् । अर्की चाहिँले कालो कुर्ता –सुरुवाल लगाएकी थिइन् । तिनीहरुका आँखा मलाई खोज्दै अगाडि बढिरहेका थिए । मैले हत्तपत्त कोरेको सलाई फू गरेर निभाउँदै टेबुलमुनि फ्याके र हातको चुरोट हातैमा कच्याककुचुक पारिदिएँ ।
मलाई थाहा थियो कि देवयानीलाई चुरोट खाएको पटक्कै मन पर्दैनथ्यो । एकदिन क्यान्टिनमा जिस्किँदा जिस्कँदै मैले चुरोट मगाएको थिएँ । देवयानीले आश्चर्यचकित हुँदै सोधेकी थिइन्– ‘राजन तिमी पनि चुरोट खान्छौ ?’ अनि उनले आफ्ना ठुल्ठुला आँखा नचाउँदै भनेकी थिइन् – ‘अनि यहाँ तिम्रो चुरोट पिउने मुड कहाँबाट आयो त ?’
मैले पनि ठट्टा गर्दै भनैँ –‘तिमी आएपछि त मुड पनि त्यसै आइहाल्छ नि ।’ सबैजना गलल्ल हाँसे । उनले रिसाउँदै भनेकी थिइन् –‘त्यसो भए म गइदिन्छु ।’ जुरुक्क उठी चिया त्यसै छोडी जानलाई तयार भएकी थिइन् उनी । मैले फकाउने प्रयत्न गर्दै भनेँ , ‘सरी देवयानी ! तिमीलाई मन पर्दैन भने म पिउँदिन नि , चिया त खाउ प्लिज । उनले हाँसेर बस्दै भनिन् –‘मलाई त चुरोट पिउने मानिस मन पर्दैन ।’
देवयानीले मलाई देखिन् र टाढैबाट चिच्याइन् –‘हाई राजन । ’म पनि हत्तपत्त उठेर ‘हलो’ भन्दै उनीहरुतर्फ अगाडि बढेँ ।
देवयानी र अर्की युवती सरासर आई मेरै छेउको कुर्सी सारेर बस्छन् । म देवयानीलाई एकनासले एकोहोरिएर हेरिरहन्छु । मनभरि आशाको तरङ्ग सल्बलाइरहेको हुन्छ । आँखामा तृष्णाको लहर फैलिँदै जान्छ । मन लाग्छ यसरी नै बसिरहुँ , सारा संसारलाई बिर्सेर ।
‘सरी राजन । ढिलो भइहाल्यो , के गर्ने फुर्सदै पाइँन । ऊ मेरी साथी सर्बानी ’ सँगैकी साथीलाई इङ्गिन गर्दै उनले भनिन् । म नमस्ते गर्छु । उनी पनि नमस्ते फर्काउँदै मुसुक्क मुस्कुराउँछिन् । ‘देखिस् त कस्तो ह्यान्डसम छ मेरो साथी ।’ सर्बानीको अगाडि मेरो प्रशंसाको फुल बाँध्न थालिन् । म औपचारिकतामा सोध्छु ‘के खाने भन , आज मेरो खुसीको दिन हो ।’
उनले मसक्क मस्कँदै भनिन् , ‘भन् सर्बानी के खान्छेस् ? मेरो साथीले आज जे भन्यो , त्यही खुवाउँछ रे । यस्तो चान्स मिस नगर् ल ।’
सर्बानी लाजले राती भइन् र भुइँतिर हेरिरहिन् । म आनन्दविभोर भई देवयानीलाई हेरिरहेँ । उनले भनेको ‘मेरो साथी’ भन्ने शब्दले मनलाई रोमाञ्चित पारिरहेको थियो । यत्तिकैमा वेटर मिनु अगाडि ल्याउँदै अर्डर लिन आइपुग्छ । मैले आँखाले इसारा गरेर देवयानीलाई केही मगाउने सङ्केत गरैँ । उनले प्रफुल्ल हुँदै तीन कप कफी र केही पकौडा अर्डर गरिन् ।
मैले टोलाएर देवयानीलाई हेरिरहें । उनको चञ्चलताले मेरो मनमा हलचल मचाइरहेको थियो । एक्कासि मेरो ध्यान भङ्ग गर्दै भनिन् – ‘ल भन राजन , तिम्रो खुुसीको कुरा के हो ? हामी पनि सुनौ न । ’
मैले पनि आँखा सन्काउँदै भने , ‘तिम्रो पनि सरप्राइज के हो , भन न त ?’
‘भन न प्लिज राजन !’ तिनी जिद्घी गर्न लागिन् । सर्बानी हामी दुईबीचको संवाद सुनेर मुस्कुराइरहेकी थिइन् ।
‘ल ल । म हारँे , मै भन्छु । तिमीलाई कसले जित्न सक्छ र ।’ मैले झुकेर हातले अभिनय गर्दै भनेँ । तिनी खित्का छोडेर हाँसिन् । वातावरण हाँसोमय भयो । ‘भन न प्लिज ! ’ तिनी पुनः कर गर्न थालिन् ।
‘मलाई काठमाडौँ ट्राभल्सबाट इन्टरभ्युको लागि बोलाएको छ ।’ मैले खुसीले उत्तेजित हुँदै भनेँ ।
‘जागिर तिमीले नै पाउँछौ राजन ! धन्धा नमान ’ तिनीले मुस्कुराउँदै आँखा सन्काइन् । म आश्चर्यचकित भएँ , कसरी मैले नै पाउँछु उत्तर खोज्न देवयानीको आँखामा आँखा जुधाएँ ।
‘किनकी तिमी पढेलेखेका छौ , इमान्दार छौ असल छौ अनि मेरो बेस्ट फ्रेन्ड पनि । उनले भन्दै गइन् त्यो ट्राभल्स मेरो अङ्कलको हो । तिमीलाई त्यहाँ धेरै सुविधा हुन्छ । के मैले यति पनि नगर्नु तिम्रा लागि ? मलाई थाहा छ जागिरको लागि तिमीले धेरै धाइसक्यौ । यहाँ यस्तै छ । चिनेजानेको छैन भने योग्यता भए पनि केही काम लाग्दैन । यसमा तिमीले अन्यथा नलिऊ । किनभने तिमी योग्य छौ । मैले त केवल योग्यताको कदर गरेकी मात्रै हुँ ।’
म खुसी भएँ । सातै रङ्गको इन्द्रेणीले मेरो मनलाई रङ्ग्याइदियो । खुला आकाशमा टाढाटाढा पखेटा फैलाई उडेँ । माथिमाथि आकाशमा क्षितिज पहिल्याउँदै सगरमाथाको चुचुरोमा पुगेको अनुभव भयो ।
‘ल भन । अब तिम्रो सरप्राइज !’ म उत्सुक थिएँ सुन्नलाई ।
देवयानीले सर्बानीलाई हेरिन् । सर्बानी मन्दमन्द मुस्कुराएकी थिइन् अनि देवयानीले आँखाले इसारा गरिन् । सर्बानीले पनि केही बुझेभैmँ गरी आफ्नो ब्याग खोलिन् र एउता कार्ड देवयानीतिर बढाइन् । त्यत्तिकैमा वेटरले तात्तातो कफी र पकौडा टेबिलमा सजाइदियो । मैले एउटा पकौडा क्वाप्प मुखमा राखेँ ।
मैले पकौडा चपाउँदै भनेँ, ‘भन न त ।’
‘मेरो बिहे हुँदैछ । आज खास म तिमीलाई बिहेको कार्ड दिन आएकी तिमी आउनुपर्छ नि ।’
हँ..! एक्कासि मेरो मनमा भुइँचालो गयो । लाग्यो आफू बसेको जमिन बिस्तारै भासिँदै गइरहेको छ । चारैतिर अन्धकार छायो । केही ठम्याउन सकिनँ । पकौडालाई चपाउँदा चपाउँदै रोकेँ । निल्न सकिँन र ओकल्न पनि सकिँन । दिमाग शून्य भयो । किकंर्तव्यविमूढ भएँ । टेबुलमा राखेको कफीमा हेरिरहेँ । आँखा रसाएर आयो । हत्तपत्त आफूले आफँैलाई सम्हाल्ने प्रयास गरेँ । तिनी एकनासले भन्दै गइरहेकी थिइन् ।
‘राजन ! तिमीलाई अचम्म लाग्यो होला हैन ? तर मेरो कुरा छिनेको त एक वर्ष भइसक्याथ्यो आर्यनसँग । आर्यन मेरो बच्चैदेखिको साथी ,मलाई साह्रै माया गर्छ । हामी सँगैसँगै कलेज पढ्थ्यौँ । एक वर्ष हुन लाग्यो ऊ लन्डन गएको । ऊ गइपछि म एक्लिएकी थिएँ ।’
एकछिन रोकिई पुनः भनिन् , ‘तिमीलाई थाहा छ , आर्यन तिमीसँग ठ्याक्कै मिल्छ । उस्तै अनुहार , उस्तै बोलीचाली अनि उस्तै असल चरित्र । उसले पनि मलाई मनपर्दैन भनेर चुरोट छाडेको थियो । काटिकुटी उस्तै केही फरक छैन । मैले तिमीलाई भेटेको भोलिपल्टै आर्यनलाई इमेल गरेकी थिएँ । तिमीजस्तै मान्छे मैले भेटेँ भनेर । थाहा छ ? उसले के लेखेर पठाएको थियो –कहीँ म भनेर तिमीले उसलाई पनि प्रेम गर्यौली नि होसियार है रे ! तिम्रो आर्यन त लन्डनमा छ । ..साहै्र ठट्टा गर्नुपर्ने तिमीजस्तै ।’
मैले सुनिरहेँ । सिर्फ सुनिरहेँ । आफूलाई सम्हाल्ने प्रयास गर्दै सुनिरहेँ । तिनी भन्दै गइन् –‘दुई हप्तामात्र भयो आर्यन नेपाल फर्केको । मबिना ऊ पनि एक्लै बस्न सक्दैन रे । त्यसैले मलाई बिहे गरी साथै लग्ने विचारले आएको । म पनि ऊबिना एक्लै बस्न कहाँ सक्छु र ।’ टेबिलमा भएको कफी उठाउँदै पुनः भनिन् ल कुराकुरामा कफी त सेलाइसक्यो ।’ कफीको चुस्की लिन थालिन् । एकछिन् वातावरण शान्त भयो । मलाई के बोल्ने भन्ने कुराको होसै भएन । चुपचाप सुनिरहेँ शून्यतामा हेर्दै ।
‘भन राजन ! मेरो साथी सर्बानी । तिमीलाई कस्तो लाग्छ ? जबदेखि तिम्रो फोटो देखाएँ , हुरुक्कै भएकी छे ।’ ठट्टा गर्दै भनिन् ।
म झस्कैँ तुरुन्तै आफूलाई सम्हाल्दै सुस्तरी नजर घुमाएँ र सर्बानीलाई हेरेँ । सर्बानी लाजले राती भइन् । सूर्यको प्रथम किरणसँग टल्किएको शीतको थोपाझैं टलक्क टल्किइन् । सोचेँ मेरो जीवनको उज्यालो अँध्यारोलाई चिर्दै स्वर्णिम आभा छरिरहेकी छिन् । मनमनै सोचेँ मेरी हृदयकी रानीको आग्रहलाई म कहाँ टार्न सक्छु र ? मलाई थाहा छ , तिनी पनि मलाई खुसी पार्न चाहन्छिन् । म यत्तिमै सन्तोष छु । देवयानीको खुसी नै मेरो खुसी हो ।
उफ् । बाहिर त साँच्चिकै उज्यालो हुन लागेछ । तिम्रो दाम्पत्य जीवनमा सधैँ खुसीयाली छाइरहोस् । तिम्रो हर चाहना पूरा होस् । यही नै तिमीलाई मेरो हृदयदेखि शुभकामना छ । औंसीको अन्धकारलाई चिर्दै उज्यालोको आगमन भइरहेछ । घडी हेर्छु , रात त छर्लङ्गै बितेछ । अब त सुत्नुपर्छ । नत्र दिउँसोको अन्तर्वार्तामा कसरी दिने ? केही छिन भए पनि सुत्नुपर्छ म अन्तर्वार्तामा गइनँ भने त देवयानी पक्कै दुःखी हुन्छिन् । उनी मेरो खुसी चाहन्छिन् । म तिमीलाई यो खुसी पनि दिन चाहन्छु देवयानी । अनि तिम्रो बिहेमा पनि अवश्य आउनेछु र भन्ने छु –बधाई छ देवयानी !