–डा. प्रकाश पौडेल (सर्जक/सर्जन)
दस वर्षको उमेरमा
ठूलो मान्छे बन्ने रहरमा
पसेपछि यो ठूलो शहरमा
गाउँतिर नफर्केको धेरै भयो ।।
मेरो गाउँघर कस्तो भयो होला ?
पौडी खेल्ने भुतेदह
माछा मार्ने जरेखोला ।।
कस्तो भयो होला ?
ओगादीको झोलुङ्गे पुल
पारीखेतको ढुङ्गे धारा ।।।
कस्तो भयो होला ?
उस्तै होला कि भत्कियो होला ।।
मेरो गाउँघर कस्तो भयो होला ??
उस्तै होला कि बदलियो होला ??
काँधमा किताबको झोला हल्लाउँदै
गोडामा हातीछाप चप्पल पट्काउँदै।।
बेलाउँती र काँक्रा चोरेर भाग्दै गर्दा ।।
छेउघरे दाईले खेदेको सिठी बजाउँदै ।
कारबारेको उकालो
थकाइ मार्ने चौतारो ।
परेड छुट्ने हतारो ।।
स्कुल धाएका ती दिनहरु ।
आहा! त्यो बालापनको बिठ्याइँ
झल्झली आउँछ सम्झना मलाई ।।
मेरो बालापन कहाँ गयो होला ??
मेरो गाउँघर कस्तो भयो होला ??
फाटेको जाँझे पट्पटी फुटेका गालाहरु
हातभरी बिझेका कटुसका काँढाहरु
क्लासमा एकदिन हेडसरले छापा मार्दा
गोजीभरी भेटिएका गोठरी र गुच्चाहरु
हात फर्काई फर्काई
ढाड सेकाई सेकाई
घुँडा टेकाई टेकाई
सजायँ पाएका ती दिनहरु।।
एइया! त्यो क्लास टीचरको पिटाई ।।
सम्झना आउँछ झल्झली मलाई ।।
मेरो बालापन कहाँ गयो होला ??
मेरो गाउँघर कस्तो भयो होला ??
चौरीको डाँडामा खोपी र डन्डी बियो
मोजा पोको पारेर बना'को भकुण्डो ।।
लालीगुराँस फूलेको वनै रमाइलो
कखरा सिकेको पहिलो स्कुल मेरो ।।
एक मोहर पाकेट खर्च ।
पाइन्थ्यो बल्ल बल्ल ।
एक सुकाको पुष्टकारी
पाउँ मिठाई असरल्ल ।।
अभावमै रमाएका दिनहरु ।।।
आहा ! त्यो पिपलगेडी र सुन्तला मिठाइँ ।।
बचपनको मिठासले लोभ्याउँछ मलाई ।।
देउसी भैलीको पैसाले
किनेको नयाँ भलिबल ।
कहिले व्यर्थको लडाइँ
कहिले आत्मीय छलफल ।
यी मेरा धुमिल स्मृतिहरु।।
हरे ! त्यो साथीभाइको अल्लारेपन ।
खेलखेलमा बितेको सुनौलो बालापन ।।
मेरो बालापन कहाँ गयो होला ??
मेरो गाउँघर कस्तो भयो होला ??
त्यो उकालो
त्यो चौतारो
बिर्सेको छैन
सम्झिरहन्छु म ।।
त्यो बालापन
त्यो अल्लारेपन
बिर्सेको छैन
सम्झिरहन्छु म ।।
त्यो भुते दह ...
त्यो भलिबल ...
बिर्सेको छैन
सम्झिरहन्छु म ।।
ती पिटाईहरु ...
ती मिठाइँहरु ...
बिर्सेको छैन
सम्झिरहन्छु म ।।