बुटवल । नेकपा (माओवादी केन्द्र) का दुई नेताको स्वार्थ बाँझिदा सम्मेलन सकिएको चार दिनसम्म पनि लुम्बिनी प्रदेशमा नेतृत्व टुंगो लाग्न सकेको छैन ।
पूर्वसभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ(आफ्नो मान्छे प्रदेश अध्यक्ष हुनुपर्ने अडान राखेपछि नयाँ नेतृत्व चयन हुन नसकेको हो ।
महराले तुलसीराम पुन र वर्षमानले सुदर्शन बराललाई अध्यक्षमा अघि सार्नुभएको छ । तुलसीराम दाङ निर्वाचन क्षेत्र नम्बर २ का हुनुहुन्छ । महराले गत निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जित्नुभएको थियो । बराल शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री हुनुहुन्थ्यो ।
बराल गुल्मीका भए पनि उहाँको राजनीतिक सम्पर्क रोल्पाका वर्षमानसँग रहेको छ । माओवादीका तत्कालीन नेता रामबहादुर थापासँग निकट मानिने उहाँ थापा एमालेमा गएपछि वर्षमानकै जोडबलमा माओवादीमै रहनुभएको थियो । लुम्बिनी प्रदेशमा यसअघि ओनसरि घर्ती अध्यक्ष हुँदा बरालको हालिमुहाली थियो ।
उपाध्यक्ष, सचिवलगायतका पदमा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । प्रदेशको नेतृत्वमा सहमति नभए यसको टुंगो केन्द्रले लगाउने छ ।
माओवादीको लुम्बिनी प्रदेश कमिटी २५३ सदस्यीय हुनेछ । २१७ जनाको नाम टुंगो लागिसकेको र बाँकी ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । ती ११ जना भने मनोनीत गर्ने व्यवस्था छ । बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।