काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका जनप्रतिनिधिले नै गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नुभएको छ ।
गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले आफ्नो पालिकाको कार्यालयले गर्ने गरेका विभिन्न निर्णयसहित विकास निर्माणका बारेमा आफूले सूचना पाउन नसकेको भन्दै तालाबन्दी गर्नुभएको हो ।
बुधबार प्रशासकीय अधिकृत केशव झा को कार्यक्षमा गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादव लगायतले तालबन्दी गर्नुभएको छ ।
तालाबन्दी गरेसँगै उपाध्यक्ष यादवले गाउँपालिकाको कार्यालय परिसरमा धर्ना दिँदै आउनुभएको छ ।
आर्थिक वर्ष २०७८÷०८९ को राजश्व परामर्श समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको निर्णयको प्रतिलिपी, बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी, गाउँपालिकाबाट वडाहरुमा पठाएको बजेट सिलिङको पत्र र वडाहरुबाट प्राप्त भएको बजेट सिलिङको प्रतिलिपी, आर्थिक वर्ष २०७८÷०७९ को गाउँसभाको निर्णय सहितको प्रमाणित प्रतिलिपीलगायतका सूचना माग गर्दै प्रशाकीय अधिकृत झालाई उपाध्यक्ष यादवले निवेदन दिनुभएको छ ।
तर गाउँपलिकाका अध्यक्ष सतिश सिंह र प्रशासकीय अधिकृत झाले समेत आफ्नो लिखित मागलाई बेवास्ता गरेको उहाँको आरोप छ।
सूचना उपलब्ध नगराएपछि बाध्यतावस् गाउँपालिकाको कार्यपालिकाका सदस्यहरुसहितकाले तालाबन्दी गर्नु परेको उपाध्यक्ष यादवको भनाइ छ।
उहाले सूचना उपलब्ध नभएसम्म धर्ना र तालाबन्दी जारी रहने बताउनुभयो।