कैलाली । ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भन्ने चर्चाले वातावरण रोचक बन्दै गएको छ ।२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले जितेको कैलाली ५ मा मनोनयन दर्ता शुरु भएसँगै कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो ।
आरजुले तताइन् माहोलगएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डा आरजु राणा देउवा यस क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव लड्ने भएपछि थप चर्चा बढेको हो । उनको उम्मेदवारीबारे पार्टीभित्र र बाहिर उत्तिकै बहस शुरु भएको छ ।डा राणाले मनोनयन दर्ता गराएसँगै यहाँको राजनीतिक माहोल झन् रोचक बन्दै गएको छ । उनले कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गर्ने कार्यलाई तीव्रता दिएकी छन् । राणा आजभोलि हरेक दिन आफ्नो क्षेत्रका विभिन्न स्थानमा सभा तथा घरदैलोमा व्यस्त छिन् ।
यस्ता छन् आरजुका एजेन्डाकांग्रेसको पकड राम्रो मानिएको क्षेत्र नं ५ रोजेकी डा राणाले यस क्षेत्रको विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा भएको बताएकी छन् ।त्यसैगरी आफूले जितेमा धनगढी विमानस्थलको स्तरोन्नति तथा नेपाल-भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूले पहल गर्ने उल्लेख गरेकी छन् ।
कम्जोर छैनन् नारदमुनिडा राणाको मुख्य प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना रहेका छन् । त्यसैगरी विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारीले पनि आरजुलार्इ टक्कर दिँदैछन् ।
३० हजार रानाथारू निर्णायकवाम गठबन्धनबाट साझा उम्मेदवारी रहेका नारदमुनि रानाले रानाथारू समुदायका मत तान्ने अपेक्षा गरिएको छ । रानाथारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा त्यो समुदायका मात्रै ३० हजार मतदाता रहेका छन् । रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपप्रमुखमा चुनाव जितेका थिए ।रानाले लामो समयसम्म लगानी र योगदान रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले धनगढी उपहानगरपालिकालाई व्यवस्थित र सुन्दर शहरका रुपमा परिणत गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने र जलस्रोत विकासलाई प्राथमिकतामा राखेर ऊर्जा उत्पादन गर्नेतिर छुट्टै योजना रहेको बताएका छन् ।
विवेकशील पनि टक्कर दिँदैत्यसैगरी विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दिनेशराज भण्डारी यस क्षेत्रका स्थानीय व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उहाँको छवि पनि राम्रो बनेको छ ।स्थानीय निर्वाचनमा यस क्षेत्रमा उपमहानगरपालिकाको स्वतन्त्र प्रमुख पदका उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत छ ।हमाल हाल विवेकशील साझा पार्टीका ७ नं प्रदेशका संयोजक छन् । विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिइसकेकाले अब मतदाताले नयाँ दललाई भोट दिने विश्वास व्यक्त गर्छन् ।
यस्तो छ विगतको परिणाम२०७० सालको दोस्रो संविधानसभाको निर्वाचन कांग्रेसका सभापति देउवा उठेको साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ नै अहिलेको ५ नम्बर निर्वाचन क्षेत्र हो । देउवाले छाडेर पत्नीलार्इ उठाएकाले कसले जितको झन्डा गाड्छ भन्ने अवस्था छैन ।
धनगढीका अस्थिरत मतदाताकैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता सधैँ अस्थिर देखिएका छन् । प्रत्येक चुनावमा यहाँका मतदाताले विकल्प रोज्ने गरेका छन् । अघिल्ला चुनावलार्इ केलाउने हो भने कांग्रेसको बलियो पकड देखिन्छ । तर, वाम गठबन्धन बनेपछि भने कांग्रेसलार्इ पहिले जस्तो सजिलो भने छैन ।क्षेत्र नम्बर ५ अन्तर्गतको धनगढी उपमहानगरपालिका मतदाता सधैँ अस्थिर हुने भएकाले यो पटक विकल्प खोज्ने सम्भावना पनि छ । यो क्षेत्रबाट २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका नेता टेकबहादुर चोख्याल विजयी भएका थिए । तर, २०५२ सालमा एमालेका नेता महेश्वर पाठक विजयी हुँदा चोख्याललाई तेस्रोमा धकेलिदिए ।२०५६ सालमा भएको आमनिर्वाचनमा कांग्रेसका टेकबहादुरले नै जीत निकाले । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा अहिलेको कैलाली ५ मा (साविकको कैलाली ६) तत्कालीन नेकपा माओवादीले जीत निकाल्यो ।त्यो बेला तत्कालीन नेकपा माओवादीका उम्मेदवार लिला भण्डारीले चुनाव जित्दा टेकबहादुर ३ हजार मतले पछि परे ।
देउवाले पनि जिते२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा शेरबहादुर देउवा करिब दोब्बर मतसहित विजयी भए । त्यो बेला डडेल्धुराबाट पनि विजयी देउवाले यो क्षेत्र छाडिदए । यो क्षेत्रमा देउवाले छाडेपछि भएको निर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा विजयी हुँदा एमालेका महेश्वर पाठक पराजित भए ।
स्थानीय तहको परिणामहालै भएको स्थानीय तहको निर्वाचनमा धनगढी उप-महानगरपालिकामा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी भयो । तर, कांग्रेसलार्इ मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिए ।कांग्रेस उम्मेदवारसँग पराजित भएका हमला अहिले विवेकशील-साझा पार्टीका सुदूरपश्चिम संयोजक छन् ।
कांग्रेस भन्दा वाम बलियोस्थानीय तहमा निर्वाचनको मत हेर्ने हो भने कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनभन्दा एमाले-माओवादी केन्द्रको वाम गठबन्धन मजबुत देखिन्छ । वाम ५ हजार मतले अगाडि छ ।
२० हजार मतदाता कता जालान् ?स्थानीय तहको निर्वाचनपछि दलहरूले नयाँ मतदाताको नामवलाी लेखाउन विशेष जोड दिएपछि १० हजार जना थपिएका छन् । त्यसैगरी यो क्षेत्रमा कैलाली गाँउपालिकाका २ वटा वडा ९ र ६ पनि थपिएपछि अन्य १० हजार मतदाता बढेका हुन् ।प्रतिनिधिसभाको चुनावका लागि थपिएका २० हजार मतदाता यहाँ निर्णायक हुने अवस्था छ । यिनै मतदातालार्इ फकाउन उम्मेदवारहरू अहिले कम्मर कसेर लागेका छन् ।