काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । बुधबार सर्वोच्च अदालतमा बस्नेगरी आयोगका अध्यक्षसमेत रहनुभएका जबराले बैठक बोलाउनुभएको हो ।
प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी सदस्य रहनुभएको छ ।
बैठकका लागि सदस्यहरूलाई पत्र पठाइसकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
अहिले प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका बेला बोलाइएको बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा हुने उपस्थितिले पनि महत्व राख्ने छ ।
बैठकमा कानुनमन्त्री बडू र महान्यायाधिवक्ता उपस्थित होलान् कि नहोलान् भन्ने चासो छ । सत्ता गठबन्धनले अनौपचारिक रूपमा राजीनामा दिएर निकास दिन प्रधानन्यायाधीश जबरालाई भनेका बेला उहाँले बोलाउनुभएको आयोगको बैठकमा कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकार सहभागी नहुने अनुमान गरिएको छ ।
यद्यपि औपचारिक रूपमा मन्त्री बडू र महान्यायाधिवक्ता खातीका तर्फबाट टिप्पणी आएको छैन । कानुनमन्त्री र महान्यायाधिवक्ता अनुपस्थित भए कोरम नपुगेर बैठक बस्न नसक्ने भएकोले यो प्रधानन्यायाधीशका लागि परीक्षण भएको सर्वोच्च स्रोतको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गर्नुभएको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी भने उपस्थित हुने बताइएको छ ।