–माेहनप्रसाद मैनाली
नुवाकोट । 'कुवापानी महामण्डल साँस्कृतिक मञ्च'ले वनभोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । स्थानीय संस्कार र संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि मञ्चले कार्यक्रमको आयोजना गरेको हो ।
विदुर नगरपालिका–२ अन्तर्गत ऐतिहासिक नुवाकोट दरवार परिसरमा आयोजित उक्त कार्यक्रमा स्थानीयपनमा आधारित सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा सदिश फिल्मी टिभीको विशेष सक्रियतामा लोकगायन क्षेत्रमा ख्यातिप्राप्त गायक गायिका नवराज अधिकारी, कुमार देवकोटा, सीता घिमिरे, राधिका घिमिरे तथा किरण खरेल, विकास कुँवर लगायत स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
कोरोना महामारीका कारण करिब दुई वर्षदेखि यस्ता साँस्कृतिक कार्यक्रमहरु हुन नसक्दा समाजमा आफ्नो मौलिक संस्कृतिप्रति नै अनभिज्ञता हुने डर भएकाले त्यसको संरक्षण र सम्वर्द्धनका लागि स्वास्थ्य मापदण्डप्रति सतर्कता अपनाउँदै यो कार्यक्रमको आयोजना गरिएको मञ्चका सचिव तथा स्थानीय कलाकार किरण खरेलले जानकारी दिनुभयाे।
विगत दुई दशकभन्दा बढी समयदेखि स्थानीय लोकभाकाको संरक्षणमा लागि क्रियाशील गायक नवराज अधिकारीले स्थानीय संस्कार र सँस्कृतिनै हाम्राे जीवन पद्दती भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, 'हाम्रो सामाजिक संस्कार र सँस्कृतिले हामीलाई जीवन दर्शन दिने भएकाले यसको संरक्षण्का लागि जीवनभर यसै क्षेत्रमा क्रियाशील भइरहने छु।'
सामाजिक संस्कार र सँस्कृतिले जीवन जिउन सिकाउने भएकाले यसको संरक्षण गरी पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने लोकदोहोरी क्षेत्रमा राष्ट्रिय छवि निर्माण गर्न सफल गायक कुमार देवकोटाले बताउनुभयो ।
नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक स्थलका रुपमा रहेको नुवाकोट दरवार परिसरमा स्थानीय सँस्कृतिलाई टेवा पुग्ने गरी कार्यक्रममा सक्रियता दर्शाउन पाउँदा गौरव अनुभूति भएको सदिश फिल्मी टिभीका अध्यक्ष रामकुमार श्रेष्ठकाे भनाइ छ । 'हाम्राे माैलिक सँस्कृतिकाे जगेर्नाका लागि नै याे संस्थाकाे स्थापना भएकाे हाे', श्रेष्ठले भन्नुभयाे, 'स्थानीय लाेकबाजा तथा लाेकगीतलाई विशिष्ठिकरण गर्दै यसकाे संरक्षणमा जुटिरहने संकल्प लिएकाे छु ।'
कार्यक्रमकाे सहजीकरण सदिश फिल्मी टिभीकी सञ्चालिका एवं गायिका सपना श्रेष्ठले गर्नुभएकाे थियाे ।
कार्यक्रम स्थानीय संस्कार र सँस्कृतिकाे जगेर्नामा सक्रिय भूमिका खेलिरहनु भएकी स्थानीय अनिता खरेलकाे विशेष सहयाेग र सक्रियतामा सम्पन्न भएकाे हाे।