जनकपुर । नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो ।
बिहीवार बिहान ८ बजेदेखि मतदान शुरु गरिने उहाँले बताउनुभयो ।
हिजो मङ्गलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि आज बिहान ८ बजेदेखि मतदानको समय तालिका निर्धारण गरिएको थियो । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मतदान कार्यतालिका परिवर्तन गरी दिउँसो १ बजेदेखि हुने निर्वाचन समितिले तय गरेको थियो । तर अझै मतपत्र छपाइ हुन नसकेकाले मतदान प्रक्रिया स्थगित गरिएको जनाइएको छ ।
यसअघि आजै मतदान हुनुपर्ने र रातिको समयमा मतदान गर्न नहुने भन्दै दुई पक्षबीच केही बेर झडपसमेत भएको थियो । दुई समूहबीच झडप हुन थालेपछि अधिवेशन स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
संस्थापन पक्षबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठ, सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रिता यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।