काठमाडौं । प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणका लागि प्रस्ताव पेस भएको छ ।
बिहीबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो । तर सत्तारुढ दलभित्रै प्रदेशको नामकरणमा मतभिन्नता देखिएको छ ।
सत्तारुढ मध्येका जसपा र माओवादी तथा प्रमुख प्रतिपक्षी लोसपा नेपाल मधेस प्रदेशको पक्षमा छन् भने काँग्रेस मिथिला भोजपुरा प्रदेशको पक्षमा छ । प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सत्तारुढ जसपा र माओवादी केन्द्रले ल्याएको मधेस प्रदेशको नाममा समर्थन गरेको छ ।
अर्को सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले जानकी प्रदेश नाम राख्न प्रस्ताव पेस गरेको छ । जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमोदकुमार यादव, काँग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले प्रदेशको नामसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । काँग्रेसकै राजेश्वरप्रसाद साहले भने मध्यमधेश प्रदेश नाम प्रस्ताव पेस गर्नुभएको छ ।
प्रतिपक्षी नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेस भएन । सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धी पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।
प्रदेशसभा बैठकमा धेरैजसो प्रदेशसभा सदस्यले प्रदेशको स्थायी राजधानी जनकपुर नै हुनुपर्ने बताएका छन् । तर केहीले भने वीरगंजलाई राजधानी बनाउन माग गरेका छन् ।