काठमाडौं । अहिले कोभिड १९ को प्रभाव विश्वव्यापी परेको छ ।
यसको असर सबैभन्दा धेरै अर्थतन्त्रमा परेको छ । विश्वका धेरै अर्थतन्त्र कोभिडका कारण तहसनहस भएको छ । नेपाल पनि त्यसबाट अछुतो रहने अवस्था पक्कै थिएन । त्यसैले अहिलेसम्म पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको छैन । मिडिया क्षेत्र पनि त्यसको मारमा परेको छ । त्यसै त बजारको हैसियत भन्दा बढी मिडिया हुँदा समस्यामा परेको नेपालमा अहिले मिडियाको लगानी थप दयनीय बनेको छ । आर्थिक संकटमा परेका धेरै कम्पनीहरु मर्जरमा जाँदा मिडिया क्षेत्रमा भने अहिलेसम्म खासै मर्जरको अवधारणा प्रत्यक्ष रुपमा नेपालमा देखिएको छैन । स्वामित्व परिवर्तन भने भएका छन् ।
तर भारतमा यसै सात भएको मिडियाको बिग मर्जरले यसबारेमा नयाँ वहस छेडेको छ । भारतका दुई ठूला टेलिभिजन प्रसारक कम्पनी सोनी र जी मर्जरमा जाने भएका छन् । दुवै कम्पनीले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पिक्चर्स नेटवक्र्स इन्डिया प्राइभेट लिमिटेड र जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडले मंगलवार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
जापानको विभिन्न कम्पनीहरूको समूह सोनीको भारतीय इकाईले आफ्नो स्थानीय प्रतिद्वन्द्वी जी इन्टरटेनमेन्टसँग यो सम्झौता गरेको हो । जी इन्टरटेनमेन्टसँग भएको यस सम्झौतापछि यो भारतको दोस्रो ठूलो इन्टरटेनमेन्ट नेटवर्क बनेको छ ।
सम्झौताअनुसार अब ७५ भन्दा बढी टीभी च्यानल, फिल्म राइट्स र दुई स्ट्रिमिङ प्लेटफर्म एउटै नेटवर्कमा आउनेछन् ।
भारतमा द्रुत रूपमा बढ्दो मनोरञ्जन उद्योगमा प्रमुख भूमिकामा रहन लिइएको यो महत्वपूर्ण कदम हो । यससँगै यो नेटवर्क अब वाल्ट डिज्नीको हटस्टार जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न र टक्कर दिने अनुमान गरिएको बिबिसी हिन्दीले जनाएको छ ।
मंगलबार दुबै कम्पनीको मर्जरको घोषणासँगै मर्जरपछि बनेको नयाँ कम्पनीमा सोनी पिक्चर्स नेटवक्र्स इन्डियाको करिब ५१ प्रतिशत सेयर रहने भएको छ ।
मर्जरपछि हुने कम्पनीको प्रमुखको जिम्मेवारी जी का सीईओ पुनीत गोयन्कालाई दिइएको ।
पुनीत गोयन्काले यो सम्झौतालाई निकै महत्वपूर्ण कोसेढुङ्गाको रूपमा व्याख्या गरेका छन् ।
एक आधिकारिक प्रेस विज्ञप्तिअनुसार गोयन्काले भनेका छन्, “मर्जरपछि यो नयाँ कम्पनीले मनोरञ्जन व्यवसायलाई थप विस्तार गर्नेछ । यसले हामीलाई हाम्रा उपभोक्ताहरूलाई व्यापक स्तरमा कन्टेन्टको विकल्प दिन सक्षम बनाउनेछ ।”
यी दुई कम्पनी वर्षौँदेखि भारतमा छन् र स्ट्रिमिङ प्लेटफर्म जी५ र सोनी लिभका मालिक हुन् ।
सोनी र जी टीभी भारतका प्रमुख लोकप्रिय च्यानलहरू हुन् र तिनीहरूको आफ्नै ठूलो टीभी फलोअरहरू छन् ।
मिडिया र मनोरञ्जन क्षेत्रका जानकार वनिता कोहली खान्डेकरले यो धेरै कमीकमजोरी हटाउने सम्झौता भएको बिबिसीलाई बताएकी छिन् ।
उनी भन्छिन्, “उदाहरणको लागि सोनीको भारतभर जीको जस्तो पहुँच छैन, चाहे त्यो सानो सहर होस्, गाउँ होस् वा क्षेत्रीय स्तरको दर्शक होस् । र, सोनीको जस्तो बालबालिका र खेलकुदसँग जोडिएको कार्यक्रम या प्लेटफर्म जीसँग छैन ।”
वनिताले यो दुवै कम्पनीका लागि पारस्परिक रूपमा परिपुर्ति गर्ने सम्झौता भएको मान्छिन् ।
यो मर्जरसँगै जीले अन्तर्राष्ट्रिय आयाम पनि पाउने उनको भनाई छ ।
उनका अनुसार, “अहिले ६१ अर्ब पाउन्ड अर्थात ६१०० अर्ब भारु को कम्पनी सोनीसँग जी मर्ज भएसँगै जी अब विदेशी कम्पनी बनेको छ र यसले ठूलो प्लेटफर्म पनि पाएको छ ।”
पछिल्ला वर्षहरूमा नेटफ्लिक्स, अमेजन प्राइम भिडियो र हट स्टार जस्ता धेरै स्ट्रिमिङ प्लेटफर्महरूबीच प्रतिस्पर्धा बढेको छ । सोनी र जीबीचको यो सम्झौतासँगै यो प्रतिस्पर्धा अझै बढ्ने विज्ञहरूको विश्वास छ ।
भारतको मनोरञ्जन उद्योग व्यापक छ । एक अध्ययन अनुसार भारतमा ९० करोड भन्दा बढी टीभी दर्शकहरू छन् भने त्यहाँ आठसय भन्दा बढी टीभी च्यानलहरू सञ्चालनमा छन् ।