काठमाडौं । नेपाली कांग्रेसले नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेलसहितका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गर्नुभएको हो । पार्टीको हालैसम्पन्न महाधिवेशनमा पौडेल तटस्थ रहनुभएको थियो । यस्तै सभापतिमा भिडेका सिंह र निधिले दोस्रो चरणको मतदानमा देउवाको पक्षमा खुलेर समर्थन गर्नुभएको थियो । नेता सिटौला देउवा निकट रहनुभएको छ ।
कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ दिने तयारी समेत भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा एक सय ३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ। कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।
आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसको नयाँ नेतृत्व महाधिवेशनबाट आउनै पर्ने बाध्यता थियो ।
जसअनुसार १२ पुससम्म महाधिवेशनबाट आएको नयाँ केन्द्रीय समितिको सूची बुझाउन निर्वाचन आयोगले कांग्रेसलाई पत्र पठाएको थियो । त्यसैले १० पुसमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले प्रमाणपत्र बुझ्ने र पहिलो केन्द्रीय समिति बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।