पुष्पराज अधिकारी
हेटाैँडा । बागमती प्रदेशमा चौथो पटक मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले काङ्ग्रेसका ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नुभएकाे हाे।
काङ्ग्रेसका भूमि व्यवस्था सहकारी मन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा काङ्ग्रेसकै सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली नियुक्त भएका छन् । यससँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयले पुर्णता पाएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको आजै प्रदेश प्रमुख यादबचन्द्र शर्माले सपथ ग्रहण गराउनुभएकाे छ ।
यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए ।
यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
त्यसैगरी, तेस्रो पटक भएको सरकार विस्तारमा श्रम रोजगार तथा यातायातमन्त्रीमा माओवादीका घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा नेकपा एकीकृत समाजवादीका वसन्तकुमार मानन्धर र कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्रीमा माओवादीका विशाल खड्का र युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल तथा कृषि तथा पशुन्छी राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भईसकेका छन् ।
बागमतीमा गएको मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार ८ वटा मन्त्रालय फुटाएर १४ वटा पुर्याइएको छ ।