काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले एमसीसी संसदबाट पास नहुने दाबी गनुभएको छ । जनता टेलिभिजनकाे कार्यक्रम ‘विशेष समय’मा वरिष्ठ पत्रकार टंक पन्तसँगकाे कुराकानीमा नेता पोखरेलले एमसीसी कुनै सन्धि नभएको र एमसीसी शर्तै शर्तको पोको भएको भन्दै एसमीसी संसदबाट पास नहुने दाबी गर्नु भएको हो ।
उहाँले एमसीसी सम्झौतामा भएका कतिपय धारा र दफाहरु नेपालको कानूनभन्दा माथि राखेर पालना गनुपर्ने रहेको बताउनुभयो । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा समेत नसमेटिएको एमसीसी संसदमा पेश हुन नसक्ने र एमसीसीकै कारण गठबन्धन पनि नभत्किने उहाँको भनाइ छ ।
कार्यशैलीमा परिवर्तन गर्न नसके र जनताको आकांक्षा पूरा गर्न नसक्दा माओवादी केन्द्र एक नम्बर पार्टी बन्न नसकेको उहाँको भनाइ छ । नेता पोखरेलले पार्टीको पुनर्निर्माण, आगामी कार्यदिशा, संगठनात्मक व्यवस्थपनका साथै नेतृत्व चयनका लागि पार्टीको राष्ट्रिय सम्मेलन हुन लागको बताउनुभयो । कम्युनिष्ट आन्दोलनमा व्यक्तिले नभइ विचारले नेतृत्व गर्ने भन्दै उहाँले पार्टीमा अहिले अध्यक्षको विकल्पन खोजेको बताउनुभयो ।
तत्कालीन अवस्थामा एमाले र माओवादी बीचको एकीकरणका बेला वहस र छलफलबाट नभइ आवश्यकता महशुस भएकाले पार्टी एकता भएको भन्दै उहाँले विचार, संस्कृति र जनता प्रतिको उतरदायित्वमा स्खलन भएकाले नेपालमा कम्युनिष्ट पार्टी मिल्न नसकेको बताउनुभयो ।
प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निरन्तर गर्दै आइरहेको संसद अवरोधलाई नेता पोखरेलले अहिलेको राजनीतिक प्रणाली भत्काउने खेल भएको टिप्पणी गर्नुभयो । उहाँले केपी ओलीको प्रवृति भनेको राजतन्त्रवादी, संघीयता र धर्म निरपेक्षता विरोधी भएको आरोप समेत लगाउनुभयो ।
१४ जना सांसदलाई दलको मान्यता दिने निर्वाचन आयोग र अन्तरिम आदेश दिन अस्वीकार गर्ने अदालकाे विरुद्व किन उभिन नसकेको ? भन्ने प्रश्न गर्दै नेता पोखरेलले एमालेले संसद अवरुद्ध गरेर संसदले काम गर्न सक्दैन भन्ने प्रमाणित गर्न खोजेको जिकिर समेत गर्नुभयो ।