आशिष बहादुर सिंह
धनगढी । कक्षा १० मा अध्ययनरत चार विद्यार्थीहरूले पढाइसँगै धनगढीमा कार बनाएका छन् । कैलालीको धनगढीमा रहेको एक्सिस विद्याश्रमका चार जना छात्रले सारअल्फा नामक विद्युतीय चारपाङ्ग्रे कार बनाएका छन्। एक्सिस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी, सक्षम रेग्मीले कार बनाएका हुन् ।
कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले कार बनाउने निर्णय गरेका थिए। करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा सारअल्फा नामक कार निमार्ण गरेको ऋषिकेष थापाले बताए ।
घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निमार्ण गरेको उनकाे भनाइ छ। लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले उनीहरूले यस्ताे कार्य शुरु गरेको जानकारी दिए ।
थापाले भने, 'यो अवधिमा धेरै समस्या पनि आए, त्यही पनि हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौं। करिब चार महिना लाग्यो बनाउन। अहिले पनि निर्माण कार्य जारी छ ।'
कारमा चाहिने सामग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निर्माण गरेको उनको भनाइ छ ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पढाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाइसँगै यो क्षेत्रमा लागेको उनीहरूको भनाइ छ । कारमा चार ओटा ब्याट्रीको प्रयोग गरिएको छ ।
नेपालमा डिजेल पेट्र्राेलको मूल्य दिन प्रतिदिन मंहगी बढ्दै गएपछि हामीले नेपालमा पनि यस्तो किसिमको कार बनाउन आवस्यक ठानेर हामीले पहिलो चरणमा शुरुवात गरेर सफल भएको जनाएका छन् । अझ पनि कुनै निकाएबाट हामीलाई सहयोग गरेपछि यो भन्दा पनि बढी क्षमता भएको भार पाङग्रे गाडी बनाउने लक्ष्य रहेको बताए ।