खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीयस्थल बगरे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो ‘पेन टावर’ निर्माणाधीन छ । पछिल्लो दिनमा यसलाई अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज (पिकनिक) खान आउने आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको हो ।
समुद्री सहतबाट करिब एक हजार ८०० मिटर उचाइमा टावर रहेको छ । स्थानीयवासी डम्बर भुजेल भन्नुभयो,“निर्माणाधीन पेन टावर पर्यटकका लागि खुला गरिएको छैन । भौतिक पूर्वाधार पर्याप्त नभएपनि अवलोकन गर्न, सेल्फी खिच्न र पिकनिक खान हुलकाहुल मान्छे आउने गरेका छन् ।”
सो टावरको काम ९० प्रतिशत सकिएको र आगामी चैत मसान्तभन्दा अगाडि नै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । “निर्माणाधीन पेन टावरमा फिनिसिङको काममात्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “निर्माण सम्पन्न गरेर बढाबढमा ठेक्का आव्हान गर्छौं । बढीमा चलाउन सक्छु भनेर आधार पेश गर्छ । उसैमार्फत नयाँ वर्षभन्दा पहिले नै सम्झौता गरेर व्यवस्थितरुपले सञ्चालन गर्ने तयारी गरिएको छ ।”
सङ्घीय सरकारको समपूरक कोषअन्तर्गतको ७२ लाख लगानीमा बनिरहेको सो टावरमा दृष्यावलोकन गर्ने ठाउँ र प्रवेशद्वारको काम बाँकी रहेको जनाइएको छ । टावरबाट सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली शृङ्खला तथा तराईका फाँटको दृष्यावलोकन गर्न सकिन्छ ।
टावर परिसरमा पिकनिक स्पोर्टस (वनभोजस्थल) निर्माणको काम पनि धमाधम भइरहेको छ । यसका लागि १ नं प्रदेश सरकारको समपूरक कोषको रु ७१ लाख लगानी रहेको नगरपालिकाले जनाएको छ ।
बगरे भञ्ज्याङको चौतर्फी विकासमा नगरपालिकाले चासो देखाएपछि स्थानीयवासी हर्षित छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब दुई घण्टा पैदलयात्रामा पुगिने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा पर्यटन प्रवद्र्धनको काम सुरु भएपछि स्थानीयवासीले होटल तथा रेष्टुराँ खोल्न जग्गासमेत खरिद गर्न थालेका छन्।
भौगालिकरुपमै पर्यटकीयस्थल रहेको बगरे भञ्ज्याङ आसपास लालीगुँरास, चाँप, विभिन्न प्रजातिको सुनाखरी, चिमाल लगायतका फूल तथा जडीबुटी पाइन्छ । मृग, हरिन, घोरल, थार, खरायोलगायत जङ्गली जनावर भेटिने बगरे भञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर, जुरेलीजस्ता विभिन्न प्रजातिका चराचुङ्गी देख्न पाइन्छ ।
बगरे भञ्ज्याङबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडालगायतका ठाउँ जाने पदमार्गसमेत निर्माण गरिने योजना बनाइएको छ । प्राकृतिकरुपले भरिपूर्ण चारैतिर हरियाली रहेको उक्त ठाउँमा यसअघि पनि आन्तरिक तथा वाह्य पर्यटक घुम्न तथा वनभोजका लागि जाने गरेका छन् ।
बगरे भञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि बढाएसँगै सडक स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी तथा दिक्तेल–पाथेका सडक अहिले धमाधम फराकिालो पार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बगरे भञ्ज्याङ नेपाल सरकारले पैदलयात्राका लागि निर्धारण गरेको १०० पदमार्गअन्तर्गत पर्ने मुन्धुम ट्रेलमा पर्दछ । पर्यटन प्रवद्र्धनका लागि सरकारले निर्धारण गरेको पदमार्गमा पर्ने बगरे भञ्ज्याङको कृतिम ताल निर्माणलाई निक्कै महत्वका साथ हेरिएको छ ।