काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गर्नुभएको थियो । ।
बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्षमण्डल बनाइएको छ । अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन रहनुभएको छ ।
बन्दसत्र हलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन सबै प्रतिनिधिलाई उपलब्ध हुनेछ। त्यसपछि १६ सय जनालाई समूह बनाएर प्रतिवेदनमाथि छलफल हुनेछ। समूहगत छलफलपछि एकीकृत सुझाव पेस गर्ने कार्यक्रम रहेको छ।
यस्तै अध्यक्ष प्रचण्डको प्रतिवेदनले क्रान्तिकारी विचार र पार्टी निर्माण गर्न नसक्ने भन्दै अर्का केन्द्रीय सदस्य राम कार्कीले समेत प्रतिवेदन पेश गर्ने तयारी गर्नुभएको छ । कार्की अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्ययन गरेर मात्रै अघि बढ्ने योजनामा रहे पनि अध्यक्ष प्रचण्डले भने कार्कीलाई तत्काल प्रतिनिधि समक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ ।
त्यसैगरी आज स्थायी समिति सदस्य देव गुरुङले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको छ।
जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेृछ ।
आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।