काठमाडाैं । विगत एक दशकयता धौलागिरी क्षेत्रमा सडक विस्तार र भौतिक पूर्वाधार निमार्णले जनतालाई सुविधा दिलाएको छ तर विकासकै कारण कैयौं सम्पदा मासिनाका साथै कतिपय स्थानीय सीप र पुर्ख्याैली विराशत पनि नासिएर गएका छन् ।
धौलागिरी क्षेत्रका म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका अधिकांश ठाउँ छुटृै मौलिकता र प्राकृतिक सुन्दरताले युक्त छन् । यी चार जिल्लाका एक दुई ठाउँबाहेक प्रायः सबै स्थानीय तहमा सडकको पहुँच पुगेपछि ऐतिहासिक, धार्मिक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएका सम्पदा भने नासिने क्रम तीव्र रुपमा बढेको छ ।
पदमार्गको नामोनिसान छैन । जताततै मोटर गुड्न थालेपछि पैदल यात्रुको थकाइ मेटाउने चौतारी तथा बिसाउनी नासिएका छन् । कुवा, धारो र पँधेरा देखिन छोडेका छन् भने पर्यावरणीय दृष्टिकोणले समेत उपयुक्त मानिएका र लागत कम लाग्ने घुमाउने घर पनि विस्थापित भएका छन् ।
केहीवर्ष अगाडिसम्म म्याग्दीको ज्यामरुककोट र अर्मन, बागलुङको ढोरपाटन, ढिकीचौर, बलेवालगायत विभिन्न स्थानमा थुप्रै सङ्ख्यामा ढुङ्गा र माटोले बनाएका र चेप्टा ढुङ्गा वा खरले छाएका घुमाउने घर देखिन्थे । रातो र सेतो कमेरोले पोतिएका घर गाउँभरी देख्न पाइन्थे । झ्यालढोकाका काठमा कलात्मकशैलीमा बनाइएका विभिन्न आकृतिले धेरैलाई आकर्षण गर्थ्याे तर अहिले ती घर लोप हुँदै गएका छन् ।
यस्ता घर ग्रामीण भेगमा बढी देख्न सकिन्थ्यो । पछिल्लो समय यस्ता मौलिक घर देख्न मुस्किल पर्न थालेको छ । मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोपहुँदै गएका छन् ।
“पहिले त गाउँभरी घुमाउने घर देख्न सकिन्थ्यो, अहिले त सबै भत्किए, बुढा पुरानाले संरक्षण गरेर राखेका थिए पहिले त, अहिलेका पुस्ताले यस्तो घर मन नपराउने र पक्की घर रोज्ने हुँदा घुमाउने घर लोप भए,” कार्कीले भन्नुभयो,“‘यस्ता घर संरक्षण गर्नसके हाम्रो मौलिक संस्कृति बच्ने थियो होला, बुढा पुराना मरेपछि त त्यस्ता घर पनि भत्किएर सकिए ।”
“घुमाउने घर त हाम्रो संस्कार, संस्कृति र पहिचानसँग जोडिएको छ, अहिले गाउँमा धेरै त्यस्ता घर त छैनन् तर पनि जति छन् त्यसको मर्मत सम्भार र संरक्षणमा हामीहरू लाग्नुपर्छ, घुमाउने घर त पर्यटकको रोजाइँमा पनि पर्ने गरेकाले पनि यसको संरक्षण जरुरी छ, अहिलेका मान्छेले घुमाउने घर कस्तो हुन्छ भन्ने पनि थाहा पाउँदैनन् गाउँमा सबै फरक शैलीमा निर्माण भएका घर छन् ।
‘‘सयवर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा नल्याइएकाले जीर्ण भइसकेका छन्” उहाँले भन्नुभयो । मानिसले उज्याला, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोपहुँदै गएको मङ्गला गाउँपालिका–४ का हरिकृष्ण पौडेलले बताउनुभयो । जस्तापाता सुलभरूपमा पाइने र एक पटक छाएपछि बीसौँ वर्ष रहने हुनाले यसको प्रयोग व्यापक हुनाका साथै पुराना घर उपयोगविहीन हुन थालेको उहाँको भनाइ थियो ।
सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेसँगै स्थानीय सीप र विराशत पनि लाेप हुने अवस्थामा पुगेकाे छ ।