आशिष बहादुर सिंह
बाझाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेद्वारा सुदूरपश्चिमका विमानस्थल स्तरोन्नतिका १ अर्ब भन्दा बढी बजेट विनियोजन भएका बेला बझाङ जिल्लालाई भने १२ लाख ९९ हजार रुपैयाँ मात्रै छुट्टाइएको छ । मन्त्री प्रेमबहादुर आलेमार्फत बजेट विनियोजन गरेको हो ।
बझाङ जिल्लालाई सबैभन्दा कम बजेट विनियोजन गरेकोप्रति बझाङबासिले सामाजिक सञ्जालमा आलोचना गरेका छन्। पछिल्लो समयमा एकीकृत समाजवादीको लालकिल्ला बनेको जिल्लामा नै रकम विनियोजन गर्दा सौतैनी ब्यवहार गरेको स्थानीयले आरोप लगाएका छन् ।
सरकारले धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट विनियोजन गरेको छ । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि सरकारद्वारा विनियोजन गरेको यो अहिलेसम्मकै सबैभन्दा बढी बजेट हो ।
मन्त्री आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थित धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि एक अर्ब बजेट विनियोजन गरेको हो । मन्त्री आलेको विशेष पहलमा विमानस्थल स्तरोन्नतिको काम अगाडि बढाउन बजेट विनियोजन गरिएको प्राधिकरण स्रोतले जनाएको छ । आलेले धनगढी विमानस्थलको स्तरोन्नति गर्ने प्रतिवद्धता जनाउँदै आउनुभएकाे छ ।
केही दिनअघि मात्र धनगढीमा पर्यटन बोर्डको प्रदेश कार्यालय उद्घाटन गर्ने क्रममा मन्त्री आलेले धनगढी विमानस्थलको धावन मार्ग दुई हजार पाँच सय मिटर पुर्याउने लक्ष्य रहेको बताउनुभएकाे थियाे। उहाँले यतिसम्म धावनमार्ग विस्तार गर्न सकिएमा धनगढी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सक्ने बताउनुभएकाे थियाे ।
‘धनगढी विमानस्थलबाट काठमाडौँ मात्र हाेइन, अमेरिका जाने मन छ ।’ उहाँले भन्नुभएकाे थियाे । धनगढी विमानस्थलबाट काठमाडाैं–धनगढी र सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा उडान हुँदै आएको छ ।
अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरा समेतमा विमानस्थलको धावन मार्ग विस्तार तथा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।