काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
मंगलवार विहानैदेखि देशभर सामान्य देखि पूर्णतया बदली रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
मंगलवार काठमाडौं उपत्यकामा दिनैभर मौसम बदली रहेको छ । योसँगै चिसो अझ बढेको छ । बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
मौसम चिसिएको समयमा वर्षा पनि भए काठमाडौं आसपासका डाँडाहरुमा हिउँ पर्ने सम्भावना रहन्छ । त्यसैले बद्लिदो मौसमसँगै हिउँ खेल्न रुचाउने पारखीहरु हिउँपर्ने आशमा मौसम अपडेट लिइरहेका छन् ।
यी हुन् हरेक वर्ष हिउँपर्ने काठमाडौं आसपासका ठाउँहरु
फुलचोकी डाँडा
ललितपुरको फुलचोकी डाँडामा हरेक वर्ष हिउँ पर्ने गरेको छ । हिउँमा रमाउन चाहनेका लागि फुलचोकी डाँडा सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहने गरेको छ । तुलनात्मक रुपमा बढी हिउँपर्ने भएकोले यहाँ हिउँ खेल्न जानेको भीड नै लाग्ने गरेको छ ।
मनोरम पर्वत फुलचोकी डाँडा पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा पर्दछ । समुन्द्री सहतदेखि १ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको यो डाँडा काठमाडौं उपत्यकाकै सबैभन्दा अग्लो स्थानसमेत हो । तर हरेक वर्ष हिउँ खेल्न जानेहरुले बाटो बिर्सदा सास्ती खेप्नुका साथै कतिपय अवस्थामा दुर्घटनाको जोखिम समेत हुने गरेको छ ।
नगरकोट
नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित नगरकोट समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित धौलागिरी, कञ्चनजङ्घा, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु जस्ता हिमालहरुको दृष्यावलोकन लागि पनि नगरकोट प्रसिद्ध छ । हरेक वर्ष हिउँदमा यस क्षेत्रमा पनि हिउँ पर्ने भएकोले हिउँमा रमाउन चाहनेका लागि नजिकको गन्तव्यका रुपमा रहेको छ ।
जर्सिङपौवा
काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवा पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । यहाँ सुविधायुक्त रिसोर्टहरु समेत खुलेका छन् । यहाँ विश्वकै लामो जीपलाइनको निर्माण भैरहेको छ । राजधानीबाट १९ किलोमिटरको दुरीमा शंखरापुर नगरपालिकामा पर्ने जर्सिङपौवा क्षेत्रमा पनि हिउँदमा हिउँ पर्ने गरेको छ । यहाँ हिउँदमा हिउँ खेल्न जानेहरुको भीडनै लाग्ने गरेको छ ।
शिवपुरी
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने शिवपुरी डाँडा क्षेत्रमा हिउदमा हिउँ पर्ने गरेको छ । काठमाडांैबाट नजिककै पर्ने भएकोले हिउँदमा यहाँ हिउँ खेल्न जानेको संख्या उल्लेख्य हुने गर्दछ । यस क्षेत्रमा पनि हिउँदमा बाटो बिराउने र हराउने सम्भावना हुने भएकोले नेपाली सेनाले एक्लै यात्रा गर्न भने रोक लगाउने गरेको छ । तर समूहमा जानेका लागि भने कुनै रोकतोक हुँदैन ।
चन्द्रागिरी
चन्द्रगिरी डाँडा उपत्यका नजिक हिउँ पर्ने अर्को प्रसिद्ध गन्तव्य हो । अहिले चन्द्रागिरी रिसोर्ट र केवल कार निर्माणपछि पर्यटकीय चहलपहल बढेको यहाँ हिउँदमा हिउँ पर्ने समयमा अझ बढी भीड लाग्ने गरेको छ ।
काभ्रेको धुलिखेल, मकवानपुरको दामान र पालुङ, दोलखाको कालिञ्चोक र जिरी, रामेछापको शैलुङ क्षेत्र आदि पनि हरेक वर्ष हिउँमा रमाउने जानेको प्रमुख गन्तव्य बन्ने गरेको छ ।