काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न सम्भव रहेको बताउनुभएको छ ।
तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाली भूमिबाटनै नयाँ विचारको विकास गर्न सम्भव रहेको बताउनुभएको हो ।
जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायकाबीच सहिष्णुता र आपसी ऐक्यवद्धता अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देशमा नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश भएको पनि उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ भएकाले यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
तमु समुदायमा नयाँ वर्षको आगमनको खुशियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होछारले आफ्नै मौलिकता परम्परा र सांस्कृतिक महत्व राख्ने र यो समुदाय सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको प्रचण्डको भनाइ छ ।