काभ्रेपलाञ्चोक । गत साउन महिनादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलका होटल व्यवसायी प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लागेको थियो ।
यसलगत्तै आफ्नो होटलमा चहलपहल बढ्न थालेसँगै कार्यक्रमका बुकिङले उहाँलाई उत्साह पनि थप्दै लगेको थियो । वर्ष नबत्दै उहाँलाई आजभोलि उही पहिलेकै चिन्ताले ‘डेरा’ जमाइसक्यो ।
“व्यवसायले रुप फेर्लाझै लागेको थियो, कोरोना तेस्रो लहरको चिन्ताले सताउन थालिसक्यो”, उहाँले भन्नुभयो । कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा ब्यहोर्न बाध्य बनाइरहेका बेला पुनःतेस्रो लहरको कोरोना महामारी (ओमिक्रोन) प्रक्षेपणले उहाँलगायत धुलिखेलका होटल व्यवसायीलाई हाल थप चिन्ताको भारी बोकाएको छ ।
यही साल कोरोनाको दोस्रो लहरले होटल ब्यवसाय थप धरासायी बनाएपछि पुनः तङ्ग्रन थालेको समयमा तेस्रो लहरको प्रक्षेपणले व्यवसायलाई निकै मार पर्ने क्षेत्रीय होटल सङ्घ (हान)को सचिव ज्योत्स्ना सैँजु बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालमा कोरोना तेस्रो लहर ओमिक्रोनको डरले होला धुलिखेलमा विदेशी पाहुना आउन छाडिसके, हाल आन्तिरिक पर्यटक मात्रै धुलिखेल आउनुहुन्छ, तर यसलाई सन्तोषजनक मान्नुपर्छ ।”
उहाँका अनुसार कोरोना महामारीका कारण होटल–व्यवसाय धरासायी हुँदा धुलिखेलका चार होटल बन्द भएका छन् ।
पर्यटकीयस्थल धुलिखेलमा ठूलासाना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । काभ्रेपलाञ्चोकस्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब ५० अर्बको लगानी रहेको सङ्घले जनायो । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
“तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए । हालसम्म त आन्तरिक पर्यटक बढ्दै छन्, तर पछिल्लो दिनमा कोरोना सङ्क्रमण बढ्दै गएपछि विदेशी पाहुनाको चहलपहल घट्दै गएको छ ।” हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताउनुभयो ।
धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडाैंबाट करिब ३० किलोमिटरको दूरीमा अवस्थित छ ।