पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताउनुभएको छ ।
पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताउनुभएको हो ।
तर उहाँले निर्वाचनको समय भने तोक्नुभएन । निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । अघिल्लो पटकको पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा गते भएको थियो । खाँणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने बताउनुभएको हो ।
उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाटै पास हुने दाबी गर्नुभएको छ । नेपाल सरकारले नै प्रस्ताव गरेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको उहाँले उनले बताउनुभयो ।
‘एमसीसी कुनै सैन्य परियोजना हुँदै होइन । नेपालको भौतिक विकासका लागि नै हो । जलविद्युतको ट्रान्समिसन र सडक विस्तारका लागि नै यो परियोजना आएको हो,’ उहाँले भन्नुभयो, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ । त्यसैले यो अघि बढ्नुपर्छ ।’
एमसीसी पास गर्न सबै पार्टीको सहमति पाउने उहाँको विश्वास छ । ‘संविधानसभाको निर्वाचन हुँदैन भनेका थिए, दुईपटक निर्वाचन भयो । संविधानसभाबाट संविधान बन्दैन भन्ने थियो, बन्यो । हाम्रै पार्टीको महाधिवेशन हुँदैन भन्थे, भयो,’ खाँणले भन्नुभयो, ‘एमसीसी पनि सहमतिकै आधारमा पास हुन्छ, त्यो सरकारलाई विश्वास छ ।’ फरक प्रसंगमा गृहमन्त्री खाँणले पोखरा र लेकसाइड क्षेत्र २४सैं घन्टा खुला गर्ने बताएका छन् ।