गुल्मी । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीहरुका लागि साेच्नुपर्ने अवस्था आएकाे बताउनुभएकाे छ । गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन गुल्मी आउनुभएकी मन्त्री झाँक्रीले शुक्रबार गुल्मीका कार्यालय प्रमुखसँगकाे छलफलमा केही निर्माण व्यवसायीका कारणले धेरै विकासका याेजना अलपत्र परेको भन्दै सम्झौता अनुसार काम नगर्ने जिल्लाका निर्माण व्यवसायीहरुलाई कार्वाही गर्न निर्देशन समेत दिनुभएकाे छ ।
`निर्माण व्यवसायीले सम्झौता अनुसार समयमा काम गर्न नसक्नाले साेचेअनुरुप विकास हुन सकेको छैन ।' मन्त्री झाँक्रीले भन्नुभयाे, "सम्झौता गरेर काम नगर्ने र काम अलपत्र पारेर भाग्ने निर्माण व्यवसायीलाई समातेर कारबाही गर्नुहाेस्।"
उहाँले आफूलाई केन्द्रित गर्दै मन्त्रीकै आफ्नो मान्छे निर्माण व्यवसायी भएपनि काम नगर्नेलाई नछाड्न आग्रह गर्नुभयाे । गुल्मीमा थुप्रै विकासका याेजना लामाे समयदेखि अलपत्र परिरहेकाे बताउनुभयाे ।
कार्यालय प्रमुखसँगकाे छलफलमा मन्त्री झाँक्रीले सबै सरकारी कार्यालयबाट हुने काम असार केन्द्रित नभएर पहिल्यै विकासकाे दर एउटै हुनुपर्ने बताउनुभयाे । उहाँले जिल्ला कारागार गुल्मीको अवस्थाबारे आफूलाई जानकारी भएको भन्दै त्यसको भवन निर्माणको प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताउनुभयाे।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पाैडेलले मनसुनजन्य विपद्काे विषय जेठ र असारमा सम्झने अवस्था रहेकाले त्यसलाई अन्त्य गरी पहिल्यै तयारी गर्नुपर्ने बताउनुभएकाे थियाे । त्यसलाई जवाफ दिँदै मन्त्री झाँक्रीले डाेजरकाे प्रयोगले घरघरमा बाटो पुराउँदा विपद् निम्तिएका कारण यसलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएकाे थियाे । फरक प्रसंगमा मन्त्री झाँक्रीले विकास निर्माणका आयोजनाका पूर्व शर्तहरु पूरा हुनु अनिवार्य रहेको छलफलमा बताउनुभएकाे थियाे ।
गुल्मीको सवारीसाधन दुर्घटना सन्दर्भमा सवारीसाधनमा कडाइ, सिट क्षमता र इन्स्योरेन्स सिटअनुसार मात्र यात्रु राख्न आग्रह गर्नुभयाे । मन्त्री झाँक्रीले उपभोक्ताबाट हुने याेजना नियमन गर्न आवश्यक रहेको बताउनुभयाे । तल्लो तहबाट हुने भ्रस्टाचार राेक्नका लागि उपभोक्ताबाट हुने याेजना अनुगमन र नियमन गर्न आवश्यक रहेको उहाँले भन्नुभयाे ।