काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीसँग आक्रोश व्यक्त गर्नूभएको छ ।
पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री आलेले रेग्मी सिईओ रहेसम्म बोर्डले केही प्रगति गर्न नसक्ने बताउनुभयो ।
धेरै रिसाउनुभो, जाउ रक्सी खान भन्ने व्यक्तिलाई राखेर बोर्ड नचल्ने मन्त्री आलेले बताउनुभयो ।
मन्त्री आलेले आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै भन्न्ुभयो, ‘म लन्डन जाँदै जान्न भन्दाभन्दै जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले । लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने । म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो ।’
उहाँले आफूलाई खरिद गर्छु भनेर नसोच्नसमेत चेतावनी दिनुभयो । 'चार ओटा टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ मन्त्री आलेले भन्नुभयो, 'इमान बेचेर चेयरमा बस्ने मान्छे होइन म ।'
विगतमा जस्तो ‘काले–काले मिलेर खाउँ भाले’ भन्ने तरिकाले अब काम नहुने भन्दै अब प्रेम आलेको स्टाइलमा काम हुनुपर्ने बताउनुभयो । मन्त्रालयमा विकृति धेरै भएको भन्दै सम्हाल्नै गाह्रो भएको उहाँको भनाइ छ ।