हस्त चौलागाँई
कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाका २ सय १२ घरधुरीलाई भ्यालु भौचर वितरण गरिएको छ । यु एस ए आईडीको आर्थिक सहयोग, मर्सिकोर नेपालको नेतृत्व तथा र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित भकारी परियोजनाबाट २१ लाख,९४ हजार २ सय बराबरको भ्यालु भौचर वितरण गरिएको हो ।
नागरिक आफैले कमाएको अन्नबाली तथा अन्य उत्पादनले ६ महिनासम्म खाद्यन्न पुग्ने तर त्यसपछि के खाउ,के लाउ भन्ने नागरिकहरु छनौट गरी भ्यालु भौचर वितरण गरिएको जेसी अफिसर दुर्गा शाहीले बताउनुभयाे । शाहीका अनुसार वडा प्रतिनिधि, सामुदायिक विपत व्यवस्थापन प्रतिनीधि, कृषि समूह प्रतिनिधि र फर्मको आधारबाट गरिब निमुखा छनोट गरिएकाे हाे ।
बडेमेला भैसीखालका ९४ घरधुरी,कालाशिल्ला पाल्तीगाउँ वडा नं. ३ का ४५ घरधुरी,वडा नं. ४ भाटगाउँमा २८ घरधुरी,वडा नं. ५ को खातीरुप्साका ४५ घरधुरी गरी जम्मा २ सय १२ घरधुरीलाई भ्यालु भौचर वितरण गरिएको सामाजिक परिचालक तपेन्द्र शाहीले बताउनुभयाे ।
उहाँका अनुसार प्रति एक भौचरको १० हजार, ३ सय ५० का दरले २ सय १२ घरधुरीलाई वितरण गरिएको छ । अति गरिब तथा विपन्न घरपरिवारका सदस्यहरुले उक्त भौचरबाट १० हजार,३ सय ५० का दरले आवश्यक पर्ने खाद्यन्नका सामानहरु खरिद गर्ने क्यास अफिसर किस्न चौधरीले बताउनुभयाे ।
खेतबारीमा उत्पन्न भएको विभिन्न अन्नबालीले दैनिक खाद्यन्नको संकटमा परेका नागरिकहरुलाई राहत हुने स्थानीय सरकारका प्रतिनिधीहरुको भनाइ छ । भकारी परियोजनाले गरेको यो महत्वपूर्ण कार्यप्रति स्थानीय सरकारले धन्यवाद ज्ञापन समेत गरेको छ । यता गरिब तथा विपन्न घरपरिवारका सदस्यहरु भने निकै हर्षित देखिएका छन् ।